
भैरहवा, ६ भदौ। रुपन्देही प्रहरीले ठूलो परिमाणमा विद्युतीय भेप (ई–सिगरेट) बरामद गरेको छ । इलाका प्रहरी कार्यालय लुम्बिनी र अस्थायी प्रहरी बिट महिलवारबाट खटिएको टोलीले लुम्बिनी सांस्कृतिक नगरपालिका–१० महिलवारबाट लाखौं मूल्य बराबरको विद्युतीय भेप बरामद गरेको हो ।
बिल बिजक विना राजस्व छलीको सामग्री ओसारपसार भइरहेको प्राप्त सूचनाका आधारमा लु २ च ६३०३ नम्बरको गाडी चेकजाँच गर्दा १ करोड ७१ लख २५ हजार मूल्य बराबरको बिल बिजक नभएको विद्युतीय भेप लगायतका सामग्री नियन्त्रणमा लिइएको रुपन्देहीका एसपी प्रदीप बहादुर क्षेत्रीले बताए।
Advertisement

Advertisement
Advertisement

साथै, गाडीका चालक रुपन्देही, मायादेवी गाउँपालिका–४ का ३० वर्षीय नारायण अग्रहरी बनियाँलाई पनि पक्राउ गरिएको उनले बताए । उनका अनुसार बरामद साम्रगीमा विभिन्न कम्पनीको १ हजार ३ सय ५० थान (२७ कार्टुन) फ्लेभर, विभिन्न ब्राण्डको विद्युतीय भेप ५ हजार ९ सय ६१ थान, प्लाष्टिक प्याक गर्ने मेसिन एक थान लगायतका सामग्री रहेको छ।
बरामद साम्रगी, गाडी र चालकउपर अनुसन्धान र आवश्यक कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय बुटवलमा पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।
रुपन्देही प्रहरीको कमाण्ड एसपी क्षेत्रले सम्हालेदेखि जिल्लामा शान्ति सुरक्षा देखि लिएर अपराध नियन्त्रणमा प्रहरीले निरन्तर सफलता पाइरहेको छ। जिल्लामा ठूला तस्करी ठप्प भएको छ भने लुकिछिपी गर्नेहरुलाई पनि उनले निस्तेज पार्दै आएका छन्। उनी जिल्लामा आएपछि तस्करीका सामग्री मात्र नभएर ओसरपसारमा प्रयोग भएको सवारी साधन र संग्लन व्यक्तिहरुलाई पनि धमाधम पक्राउ गर्न थालिएको छ।
केही दिन अघि मात्र नेपाल र भारतका विभिन्न विश्वविद्यालयका नक्कली शैक्षिक प्रमाणपत्र बनाउनेको जालो तोड्दै हजारौं नक्कली शैक्षिक प्रमाणपत्रहरुसहित एक जनालाई पक्राउ गरेका थिए। हिरासतमा रहेका व्यक्तिलाई छुटाई दिन्छु भनेर रकम असुल्ने एक व्यक्तिलाई पनि रकमसहित एसपी क्षेत्रीले पक्राउ गरेर मुद्दा चलाएपछि प्रहरीप्रति जनविश्वास थप बढ्दै गएको छ ।

