
सलमान खान
भैरहवा,१२ भदौ। के तपाईले एनआईसी एशिया बैंकबाट ऋण लिनु भएको छ ? यदि लिनु भएको छ भने सचेत रहनु होला । किनभने, बैंकले ऋणीलाई ‘झुक्काएर’ बढी ब्याज असुल गर्ने गरेको छ । बैंकले ऋणीसँग बढी ब्याज असुल गरेको पाइएपछि नेपाल राष्ट्र बैंकले एनआईसी एशिया बैंकमाथी कारवाहीको डण्डा चलाएको छ ।
बैंकले ऋणीसँग कर्जा सम्झौता गर्दा सम्झौतापत्रमा कर्जाको प्रकार, लागू हुने व्याजदर (स्थिर/परिवर्तनीय), किस्ता सम्बन्धी व्यवस्था लगायतका विषयमा सरल एवं स्पष्ट भाषामा उल्लेख नगरी बढी ब्याज लिएको पाइएको नेपाल राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले जनाएको छ । साथै, ब्याजदर परिवर्तन गरेको जानकारी समेत ऋणीलाई नदिएको पाएपछि राष्ट्र बैंकले एनआईसी एशिया बैंकलाई सचेत कारवाही गरेको छ ।

विभागले गत आर्थिक वर्ष ०८१/०८२ को चौथो त्रयमासमा बैंकलाई कारवाही गरेको विवरणमा भनिएको छ–‘तत्कालीन समयमा यस बैंकबाट जारी एकीकृत निर्देशन २०७४ (इ.प्रा.निर्देशन नं. १५/०७४, बुँदा नं. २, ५ (ङ) मा उल्लेख भएको व्यवस्था विपरीत ऋणीबाट बढी ब्याज असुल गरेको पाइएको, ऋणीसँग कर्जा सम्झौता गर्दा सम्झौतापत्रमा कर्जाको प्रकार, लागू हुने व्याजदर (स्थिर/परिवर्तनीय), किस्ता सम्बन्धी व्यवस्था लगायतका इ.प्रा.निर्देशन नं.२०/०८१ को बुँदा नं.१ मा उल्लेख भएको व्यवस्था बमोजिम सरल एवं स्पष्ट भाषामा उल्लेख गरेको नपाईएको तथा ब्याजदर परिवर्तन गरेको जानकारी ऋणीलाई दिएको नदेखिएकाले एन आई सी एशिया बैंक लिमिटेडलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा १ (क) बमोजिम सचेत गराइएको ।’
हेर्नुहोस् एनआईसी एशिया बैंकलाई चौथो त्रयमासमा गरिएको कारवाही विवरण:

राष्ट्र बैंकले गत आव २०८१/०८२ मा एनआईसी एशिया बैंकलाई कारवाही गरेको यो दोस्रो पटक हो । यस अघि एनआईसी एशिया बैंक लिमिटेडका संचालक, परिवारका सदस्य एवं सम्बद्ध संस्थाहरुलाई प्रकाशित व्याजदरभन्दा बढी व्याज प्रदान गरेको लगायत कैफियत पाएपछि राष्ट्र बैंकले बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने, अध्यक्ष तुलसीराम अग्रवाल, संचालक त्रिलोकचन्द्र अग्रवाल, रामचन्द्र संघाइलाई नसिहत कारवाही गरेको थियो ।
कारवाही विवरणमा उल्लेख भए अनुसार, बैंकले मुद्दती निक्षेप खातामा सर्वसाधरणहरुलाई भन्दा बैंकका संचालक, संचालकका परिवारका सदस्य एवं सम्बद्ध संस्थाहरुलाई बढी ब्याज प्रदान गर्नका लागि मुद्दती निक्षेप खाता खोल्दा कतिपय खातामा पुरानो मिति कायम गरी खोलेको पाइएको थियो ।
बैंकले मुद्दती निक्षेप खातामा ‘आफ्नालाई मात्र’ बढी ब्याज रकम प्रदान गरेको पाइएपछि राष्ट्र बैंकले उक्त ब्याज रकम फिर्ता गराएको दोस्रो त्रयमासमा बैंकलाई गरिएको कारवाही विवरणमा उल्लेख छ । विभागले ब्याजदर सम्बन्धी निर्देशन उल्लंघन नगर्न समेत एनआईसी एशियालाई निर्देशन दिएको छ।
यस विषयमा एनआईसी एशियाले बैंकले आर्थिक वर्ष २०८१/०८२ मा मुद्दती खातामा बढी ब्याज प्रदान गरिएको विषय अस्विकार गर्दै ग्राहकलाई प्रकाशित ब्याज प्रदान गरिएको दावी गरेको छ ।
हेर्नुहोस् एनआईसी एशिया बैंकलाई दोस्रो त्रयमासमा गरिएको कारवाही विवरण:


एनआईसी एशिया बैंकले उपलब्ध गराएको सूचनामा भनेको छ–‘बैंकले प्रस्ताव गरेको समयबाट मुद्दती निक्षेप खाता खोलेको समयावधीभित्र नेपाली महिना परिवर्तन भई बैंकको प्रस्ताव बमोजिम अघिल्लो महिनाको ब्याजदरबाट मुद्दती निक्षेप खाता खोलिएकोमा ने.रा. बैंकको निर्देशन बमोजिम सच्चयाई सकिएको ब्यहोरा जानकारी गराउँदछौं । उक्त विषय तहाँको उक्त पत्रमा उल्लेख भएबमोजिम नै रहेको ब्यहोरा जानकारी गराउँदछौं ।’
नेपाल राष्ट्र बैंकबाट गत आ.व.को दोस्रो त्रयमासमा एनआईसी एशिया बैंक लि.को स्थलगत निरीक्षणको क्रममा बैंकले कर्जा वर्गिकरण तथा कर्जा नोक्सानी सम्बन्धी निर्देशन, पुँजीकोष तथा जोखिमभार सम्बन्धी निर्देशन, ब्याजदर सम्बन्धी निर्देशन एवम् संस्थागत सुशासन सम्बन्धी कतिपय निर्देशनको पालना नगरेको पाइएपछि नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा १ (ग) अनुरुप एनआईसी एशिया बैंक लि.लाई तीन बुँदे लिखित आदेश समेत जारी गरिएको छ।

