
भैरहवा, २३ भदौ । रुपन्देही प्रहरीले भारतबाट भन्सार छलेर भित्राइएको विभिन्न सामग्री बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय मझगांवा, प्रहरी चौकी शिवपुर गोनाह, इलाका प्रहरी कार्यालय ओमसतिया र इलाका प्रहरी कार्यालय बेलहियाले तस्करी गरेर भित्राइएको ६ लाख ८९ हजार बढी मूल्य बराबरका विभिन्न सामग्री बरामद गरेको रुपन्देहीका एसपी प्रदीप बहादुर क्षेत्रीले बताए ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले रोहिणी गाउँपालिका र सिद्धार्थनगर नगरपालिकाको विभिन्न स्थानबाट बाख्रा, कुखुरा, दाल, तेल, घिउ, चकलेट लगायतका १ लाख ७३ हजार बढी मूल्य बराबरको विभिन्न सामग्रीसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा कपिलवस्तुको कपिलवस्तु नगरपालिका-११ का १८ वर्षीय सिराजुद्दीन मुनियार रहेका छन् ।
Advertisement

Advertisement
Advertisement

यस्तै, इप्रका मझगांवा र प्रहरी चौकी शिवपुर गोनाहको संयुक्त टोलीले मायादेवी गाउँपालिकाबाट २ लाख ११ हजार मूल्य बराबरको दुईवटा मोटरसाइकल लु ५७ प ८९८५ र लु ७ प २८१८मा ल्याइएको कुखुर, चिनी र केराउ बरामद गरेको छ। साथै, रुपन्देहीको कोटहीमाई गाउँपालिका-४ का १८ वर्षीय रवि सहनी र सोही गाउँपालिका वडा नम्बर ४ का २० वर्षीय वासुदेव गुप्तालाई सामग्रीसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
त्यस्तै इलाका प्रहरी कार्यालय ओमसतियाले ओमसतिया गाउँपालिकाबाट लु १ ह ५१७ नम्बरको अटो रिक्सामा ल्याइएको १ लाख ६५ हजार रुपैयाँ बराबरको टायल सहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ओमसतिया गाउगपालिका ५ का ४७ वर्षीय अनर्जित कुर्मी र तिलोत्तमा नगरपालिका १४ का ४३ वर्षीय प्रेम नारायण यादव रहेका छन् ।
यस्तै इलाका प्रहरी कार्यालय बेलहियाले सिद्धार्थनगर नगरपालिकाको बाइपास क्षेत्रबाट १ लाख ४० हजार मूल्य बराबरको २५ थान जेसीबीको दाँत, कपडा र किराना सामानहरु बरामद गरेको छ ।
बरामद सामग्री, पक्राउ परेका व्यक्तिहरुलाई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय बेलहिया र पशु क्वारेन्टाइन कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

