


काठमाडौं,३० भदौ । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले टुक्रे (खुद्रे) आयोजना नअगाडि बढाउने निर्णयसँगै सरकारको १०० अर्ब रुपैयाँ स्रोत बचत हुने बताएका छन्।
अर्थ मन्त्रालयमा पदबहालीपछि सोमबार आयोजित छलफलमा उनले यस्ता आयोजनाहरु हटाउन कार्यदल गठन गर्ने पहिलो निर्णय लिइएको जानकारी दिए।

मन्त्री खनालले आगामी ६ महिनाभित्र निर्वाचन हुनुपर्ने अवस्थालाई उल्लेख गर्दै त्यसका लागि बजेट व्यवस्थापन गर्न टुक्रे आयोजना कटौतीबाट १०० अर्ब रुपैयाँ जोहो गर्न लागिएको बताए।
उनका अनुसार राजनीतिक दबाबमा बजेटमा समावेश गरिएका यस्ता आयोजनाहरू कार्यान्वयनमा नल्याउने निर्णय गरिएको छ। साथै, वर्तमान सरकारले पूरक बजेट ल्याउने तयारी नभएको स्पष्ट पारे।

