


काठमाडौं,१२ असोज। पूर्व राजा ज्ञानेन्द्र शाहले यसपटकको दसैँमा सर्वसाधारणलाई टिका नलगाइदिने भएका छन्। जेन–जी आन्दोलनका क्रममा सहिद भएको घटनाले आमनागरिक शोकमग्न रहेको र वातावरण संवेदनशील भएकाले आफूले सार्वजनिकरुपमा टीका लगाइदिने कार्यक्रम नगर्ने निर्णय गरेको उनले बताएका हुन्।
दशैंको अवसरमा शुभकामना सन्देश दिँदै शाहले भनेका छन्,‘हाम्रा पूर्वजहरुले नेपालको एकता, अखण्डता, सार्वभौमिकता र सम्प्रभुताको रक्षा गर्न दिएका त्याग र बलिदान नै हाम्रो अस्तित्व, स्वाभिमान र गौरवशाली संस्कृतिको मेरुदण्ड हो। यही आधारमा नेपाल सदा स्वतन्त्र र स्वाभिमानी राष्ट्रका रुपमा उभिएको छ। कुनै परनिर्भता वा भूराजनीतिक चक्रव्यूहमा नफसी आफ्नो बाटो आफै तय गर्ने सार्मथ्य राख्दै अखण्ड नेपाललाई नवनिर्माण गर्न परेको छ।’

साथै, उनले नयाँ पुस्ताको अभिलाषा र इच्छालाई राज्य व्यवस्थाले समेट्नै पर्ने भन्दै अब बिगार्ने होइन, सपार्नेतिर अघि बढ्नुपर्ने धारणा राखेका छन् ।
उनले युवा पुस्तामा निहीत देशभक्तिको भावना, ऊर्जाशक्ति र नवीन सोचले मात्र राष्ट्रलाई बलियो, समृद्ध र आत्मनिर्भर बनाउने बाटोमा लैजाने बताएका छन् ।
‘यही समयको माग हो,’ पूर्वराजा शाहले भनेका छन्, ‘हाम्रै देशको दर्पणमा हामी हाम्रो अनुहार हेरौं । बिगार्ने, भत्काउने, जलाउने तिर नै हाम्रो राजकाज धेरै खटि परे । अब बिगार्ने होइन, सपार्नेतिर हाम्रा कार्यक्रम अघि बढ्नुपर्दछ ।’


