


डोटी,१८ असोज। डोटीमा प्रहरी जवान मृत फेला परेका छन्। शुक्रवार मध्यरात जिल्लाको शिखर नगरपालिका–८ तिलतालीका नेपाल प्रहरीको जवान पदमा कार्यरत शंकर बलायर मृत फेला परेका हुन्।
केआई सिंह राजमार्गअन्तर्गत गोपघाट स्थित सडकमा उनी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । प्रहरीका अनुसार मृतक जवानको टाउकोमा गम्भीर चोट लागेको छ। घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ।

बलायर नेपाल प्रहरीको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया बारामा दरबन्दी भई हाल जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटमा कार्यरत थिए। उनी असोज ७ गतेदेखि लागू हुने गरी १८ दिनको बिदामा आएका थिए।
घटनाको सत्यतथ्य छानबिन हुनपर्ने र दोषीलाई कारबाही गर्नुपर्ने भन्दै स्थानीयहरुले राजमार्गमा सवारीसाधन आवतजावतमा बन्द गराएका छन्।

