


भैरहवा,१९ असोज। वर्षाका कारण भैरहवा आसपास अलपत्र परेका यात्रुहरुलाई चार्टर विमानमार्फत काठमाडौं पठाउन थालिएको छ।
आज राति आकस्मिक रुपमा काठमाडौं पुग्नैपर्ने यात्रुहरुलाई रुपन्देही प्रशासनले विमान चार्टर गरेर काठमाडौं पठाउन थालेको हो।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेका अनुसार अलपत्र परेका र आज राति पुग्नैपर्ने यात्रुहरुको सूची तयार गरेर नेपाल एयरलाइन्सको विमानमार्फत काठमाडौं पठाउन लागिएको हो।
उनले काठमाडौंबाट साँझ ७ बजे भैरहवा आउने नेपाल एयरलाइन्सको विमानमार्फत अलपत्र यात्रुहरुलाई काठमाडौं पठाइने बताए।
उनका अनुसार १ सय ५८ जना यात्रुहरुलाई विमानमार्फत काठमाडौं पठाइनेछ । भैरहवा विमानस्थलमा रहेको नेपाल एयरलाइन्सको काउन्टरमा गएर आफ्ना समस्याबारे जानकारी गराउन पनि प्रशासनले अनुरोध गरेको छ।
यात्राबारे बुझ्न र टिकटका लागि नेपाल एयरलाइन्स, भैरहवाका कर्मचारी अरुण पन्थीको ९८५७०२३६७१ मा सम्पर्क गर्न सकिने प्रशासनले जनाएको छ।

