


काठमाडौं,२८ असोज। प्रधानमन्त्री सुशीला कार्कीले चन्दा संकलन गर्ने कार्यको लागि कुनै व्यक्ति वा समूहलाई आधिकारिक अनुमति नदिएको स्पष्ट पारेकी छिन्।
सामाजिक सञ्जालमार्फत उनले आफ्नो नाममा भइरहेका सबै आर्थिक कारोबार तथा संकलनहरु पूर्णतः अनधिकृत र गैरकानुनी ठगी भएको स्पष्ट पारेकी हुन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पनि केही व्यक्ति वा समूहले प्रधानमन्त्री कार्की र प्रधानमन्त्री कार्यालयको हवाला दिँदै विभिन्न परियोजना, कोष वा सामाजिक कार्यका लागि भन्दै चन्दा सहयोग माग गरेको भन्ने जानकारीप्रति ध्यानाकर्षण भएको उल्लेख गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव एवं प्रवक्ता रविलाल शर्माले भ्रामक कार्यमा विश्वास नगर्न तथा कसैले यस्तो कार्यका लागि आग्रह गरेमा पूर्ण रुपमा अस्वीकार गर्न आग्रह गरेका छन्।
‘यस कार्यालय र सम्माननीय प्रधानमन्त्रीज्यूको नाम प्रयोग गरेर चन्दा सङ्कलन गरेको वा गर्नलाई प्रोत्साहित गरेको गतिविधि फेला परेमा यस्ता कार्यलाई कानूनी दायरामा ल्याउन तुरुन्त नजिकको स्थानीय प्रशासन/प्रहरी कार्यालय वा यस कार्यालयमा तत्काल जानकारी गराउन हुन अनुरोध गरिन्छ’, प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपालबाहिर बसी कसैले त्यस्तो अनाधिकृत गतिविधि गरेको सूचना वा जानकारी भएमा सम्बन्धित देशमा रहेको नेपाली नियोग वा यस कार्यालयमा जानकारी गराइदिनु हुन समेत अनुरोध छ।’
प्रधानमन्त्री कार्कीको नाममा फेक फेसबुक आइडी बनाइएपनि हालसम्म सरकारले कारबाही गरेको छैन।

