


काठमाडौं,२१ कार्तिक। अनलाइन ठगीको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–११ का ४० वर्षीय राजन गिरी, ओखलढुंगाको चम्पादेवी गाउँपालिका–८ कि २६ वर्षीया मिना लकान्द्री र भारतको बिहारका २६ वर्षीय आदित्य कुमार रहेका छन्।

पक्राउ परेका अरोपीहरुमाथी फेसबुकमा विभिन्न बैंकको विज्ञापन देखाएर बोनस प्राप्त गर्न सर्भे लिंकमा क्लिक गर्नुहोस् भन्दै अनलाइन ठगी गरेको आरोप छ। लिंक क्लिक गरेपछि बैंक खाताको रकम अन्य खातामा ट्रान्सफर हुने गरेको साइबर ब्युरोका एसपी तथा प्रवक्ता दीपकराज अवस्थीले बताए ।
उनीहरुलाई प्रहरीको केन्द्रीय साइबर ब्यूरोको टोलीले पक्राउ गरेको हो । पक्राउ परेकाहरुविरुद्ध विद्युतीय माध्यमबाट ठगी गरेको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।
‘बोनस प्राप्त गर्न भनेर लिंक पठाउने, त्यो लिंकमा क्लीक गरेपछि पीडितको रकम आफ्नो खातामा यो गिरोहले ल्याउने गरेको देखियो’ एसपी अवस्थीले भने।

