
काठमाडौं,२१ कार्तिक । गृह मन्त्रालयले बागमती प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) अनु लामालाई स्पष्टीकरण सोधेको छ।
मन्त्रालयले एक सूचना जारी गर्दै लामो समयदेखि कार्यालयमा गैर हाजिर रहेको भन्दै सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन भनेको हो।
Advertisement

Advertisement
Advertisement

उनी गएको असार २५ गतेदेखि कार्यालयमा उपस्थित भएकी छैनन्। त्यतिबेला दस दिनको बिदा लिएर बसेकी उनले त्यसपछि पुन: १० दिन थप बिदा स्वीकृति गराएकी थिइन्।
२० दिनको बिदा सकेपछि गएको साउन १६ गते नै उनी कार्यालयमा हाजिर हुनुपर्ने थियो। तर, त्यसयता पनि कसैलाई जानकारी नगराई उनी गैरहाजिर रहेको मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ।
मन्त्रालयले ७ दिनभित्र आफू गैरहाजिर हुनुको कारण र सन्तोषजनक स्पष्टीकरणसहित हाजिर हुन नआएमा भविष्यमा सरकारी सेवाको लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाइने चेतावनी समेत दिएको छ ।


