
काठमाडौं,२३ कार्तिक। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीतर्फको उम्मेदवारका लागि आवेदन आह्वान गरेको छ।
पार्टीको विस्तारित बैठकमा सहमहामन्त्री विपिनकुमार आचार्यले प्रस्तुत गरेको उम्मेदवार छनोट रुपरेखामा आधारित रहेर रास्वपाले आईतबारदेखि उम्मेदवारी आह्वान गरेको हो।
Advertisement

Advertisement
Advertisement

रास्वपाले उम्मेदवारीका लागि मापदण्ड तोकेको छ। जसअन्तर्गत सार्वजनिक पदको दुरुपयोग नगरेको स्वघोषणा, शैक्षिक प्रमाणपत्रको प्रमाणीकरणको स्वघोषणा, वैवाहिक अवस्थाको वैध स्पष्टताको स्वघोषणा, सार्वजनिक रुपमा प्रमाणित (अनलाइनसहित) घृणात्मक अभिव्यक्ति, दुर्व्यवहार, धम्की, जात-लिंग आधारमा अपमान वा कमजोर समूहको शोषण जस्ता आचरण नगरेको लगायत स्वघोषणा गरेको हुनुपर्ने रास्वपाले जनाएको छ।
उम्मेदवार छनोट प्रक्रिया पारदर्शी, विधिसम्मत र निष्पक्ष भएकोरनभएको मूल्याङ्कन गर्न रास्वपाले अडिट समिति बनाउने भएको छ।
रास्वपाले भनेको छ, ʻपरम्परागत समानुपातिक बन्दसूचीको खाकालाई थप उन्नत, वैज्ञानिक र वस्तुपरक बनाउँदै राष्ट्रिय स्वतन्त्र पार्टीले संविधानले निर्दिष्ट गरेको जातीय क्लस्टर मात्र नभई क्लस्टरमा आधारित जनसांख्यिक प्रादेशिक अनुपात र २०७९ को आम निर्वाचनमा पार्टीले प्राप्त गरेको समानुपातिक मतको प्रादेशिक अनुपातका आधारमा ११० जना उम्मेदवारको बन्दसूचीको खाका निर्माण गरेको छ। यो व्यवस्थाले प्रदेशको समानुपातिक प्रतिनिधित्व मात्र सुनिश्चित गरेको छैन, प्रदेशको क्लस्टरमा आधारित जनसांख्यिक अनुपातलाई पनि सम्बोधन गरेको छ।ʼ
रास्वपाका प्रवक्ता मनिष झाले जेनजी प्रतिनिधित्वलाई समानुपातिक बन्दसूचीमा समेट्दै २५ देखि ४० वर्षका युवाका लागि २७ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरिएको जानकारी दिए। यस्तै प्रवासबाट उम्मेदवार बन्न फर्किने नेपालीका लागि १० प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरिएको उनले बताए।
रास्वपाले २०७९ को प्रतिनिधिसभामा समानुपातिकतर्फबाट सदस्य बनेका पार्टी सदस्यहरुले फेरि समानुपातिकतर्फ उम्मेदवारी दिन नपाउने व्यवस्था गरेको छ।

