


काठमाडौं,११ साउन। सीडीएस एन्ड क्लियरिङ लिमिटेडले साउन १५ गतेभित्र डिम्याट (हितग्राही) खाताको वार्षिक नवीकरण शुल्क नतिरेमा खाता रोक्का हुने जनाएको छ ।
लिमिटेडले सूचना जारी गर्दै तोकिएको समयभित्र शुल्क बुझाउन सबै हितग्राहीलाई आग्रह गरेको छ।

सीडीएसका वरिष्ठ अधिकृत देवराज रिजालका अनुसार, साउन १५ गतेसम्म वार्षिक शुल्क नबुझाएका डिम्याट खाता साउन १६ गतेदेखि रोक्का गरिनेछ। खाता रोक्का भएपछि सम्बन्धित लगानीकर्ताले शेयर कारोबार गर्न समेत पाउने छैनन्।
प्रत्येक वर्ष डिम्याट खाताका लागि १०० रुपैयाँ र ‘मेरो शेयर’ सेवाका लागि ५० रुपैयाँ वार्षिक शुल्क तिर्नुपर्ने व्यवस्था छ। हाल डिम्याट खाताको संख्या ८० लाख नाघेको छ भने ‘मेरो शेयर’का सक्रिय खाताको संख्या ५१ लाखभन्दा बढी रहेको छ।

