


काठमाडौं,२५ कार्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरेका छन् ।
मन्त्रिपरिषद्को सोमबारको निर्णय र सिफारिस बमोजिम राष्ट्रपति पौडेलले मंगलबार भण्डारीलाई पदमुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिए।

राष्ट्रपति कार्यालयद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२/०७/२४ गतेको निर्णय एवम् सिफारिसमा नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम मधेश प्रदेशका प्रदेश प्रमुख श्री सुमित्रा सुवेदी भण्डारीलाई मिति २०८२/०७/२५ गतेदेखि पदमुक्त गर्नुभएको छ।’
होटलमा मधेशको मुख्यमन्त्री नियुक्त र शपथ गरेपछि भण्डारीको चौतर्फी विरोध भएको थियो। मन्त्रिपरिषद् बैठकले मधेशको प्रदेश प्रमुखमा सुरेन्द्र लाभ कर्णलाई नियुक्तिका लागि सिफारिस गरेको छ।

