
काठमाडौं,१ मंसिर। बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरण अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई मानवता विरुद्धका अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय फैसला सुनाएको छ।
हसिनामाथि गत वर्ष जुलाई-अगस्टमा भएको विद्रोहको क्रममा मानवता विरुद्धको अपराधको आरोप लगाइएको थियो। ४५३ पृष्ठको फैसलाको पाठ टेलिभिजनमार्फत प्रत्यक्ष प्रसारण गरिएको थियो।
Advertisement

Advertisement
Advertisement

अभियोजन पक्षले गत जुनमा अदालतमा हसिनासहित तीन जनाविरुद्ध मुद्दा दायर गरेका थिए । जसमध्ये अदालतले तत्कालीन गृहमन्त्री आसदुज्जामान खान कमाल समेतलाई मृत्युदण्डको सजाय सुनाएको छ । तत्कालीन प्रहरी प्रमुख अल ममूनलाई भने सरकारी साक्षी बनेका कारण ५ वर्षको जेल सजाय सुनाइएको छ ।
गत वर्ष बंगलादेशमा आरक्षणको विरोधमा विद्यार्थीहरुले गरेको प्रदर्शन दबाउन तत्कालीन प्रधानमन्त्री हसिनाले राज्यका सुरक्षा निकायलाई बल प्रयोग गर्न निर्देशन दिएको अदालतको ठहर छ।
न्यायाधीश गुलाम मुर्तजा नेतृत्वको तीन सदस्यीय इजलासले प्रदर्शन दबाउन हसिनाले बम र घातक हतियार प्रयोग गर्न आदेश दिएको ठहर गरेको छ। उनले ड्रोन, हेलिकोप्टर र घातक हतियारहरुको प्रयोगको आदेश दिएर मानवता विरुद्धको अर्को अपराध गरेको अदालतले ठहर गरेको छ।
अभियोजन पक्षले हसिना र असदुज्जमान खान कमलविरुद्ध अधिकतम सजाय अर्थात् मृत्युदण्डको माग गरेको थियो। आन्दोलनका कारण हसिना सत्ताच्यूत भएकी थिइन्। अगस्ट २०२४ मा हसिना देशबाट भागेर भारतमा निवार्सनमा छिन्।

