
भैरहवा, ३ मंसिर। नेपाल प्रहरीका सिनियर अधिकृतहरुसहित कार्यक्रममा सहभागी हुन अमेरिका गएकी नेपाल प्रहरीको इन्स्पेक्टर प्रतिमा कार्की स्वदेश फर्किएपछि सुटबुटमा अस्ती कार्यालयमा हाजिर भएकी छिन् ।
गत असोज २७, २८ र २९ गते अमेरिकाको म्याडिसनमा आयोजित ३३ औं वार्षिक समस्या–केन्द्रित प्रहरी सम्मेलन पश्चात त्यहाँ करिब एक महिना घुमघाम गरेर बल्ल अस्ती सोमबार (मंसिर १ गते) जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीमा हाजिर भएकी हुन् ।

नेपाल, अमेरिका, क्यानडा लगायत मुलुकका प्रहरी अधिकारी, अपराध विश्लेषक, अनुसन्धानकर्ता सहभागी सम्मेलनमा विशिष्ट अपराध, सुरक्षा समस्याहरु कसरी समाधान गर्ने लगायतका अनेकन विषयमा छलफल र अनुभव आदनप्रदान गरिएको थियो ।
उक्त सम्मेलनमा नेपाल ‘सामाजिक रुपान्तरणका लागि समुदाय–प्रहरी साझेदारी : मार्कु गाउँ अछाम, नेपालमा छाउपडी प्रथाको अन्त्य’ शीर्षक प्रोजेक्टका लागि ‘हरमन गोल्डस्टीन पुरस्कार’ मा फाइनलिस्ट बन्न पनि सफल भएको छ ।अमेरिकामा कार्यक्रममा हुँदै गर्दा असोज २८ गते इन्स्पेक्टरहरुको सरुवामा उनको जिल्ला ट्राफिकमा सरुवा भएको थियो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट रवाना लिएर जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीको इन्चार्ज भएर आएकी कार्कीले यहाँको ट्राफिक व्यवस्थापन लगायत कार्यसम्पादन कसरी गर्छिन थाहा पाउन केही समय पर्खिनुपर्ने हुन्छ ।
कार्यालयको नाम जिल्ला कार्यालय भएपनि कार्यक्षेत्र भने समग्र जिल्लाको छैन । बुटवल लगायत केही क्षेत्र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले उहिल्यै देखि ‘ओभरअट्याक’ गरेर राखेको छ । भैरहवामा कार्यालय रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले लुम्बिनी, धकधई, बेथरी लगायत क्षेत्रमा अस्थाई पोष्टहरुबाट कार्य गर्दै आएको छ ।
जिल्ला अन्र्तगत ड्युटी खटाइने सबैभन्दा आर्कषक भनेको बेलहिया नाका हो । बेलिहया नाकामा ट्राफिक प्रहरीको असुली धन्दा दशकौं देखिको ‘ओपेन सेक्रेट’ विषय हो । अन्य अस्थाई पोष्टमा राजस्व संकलनका साथै अतिरिक्त कमाई नहुने होइन तर ट्राफिक प्रहरीका लागि बेलहिया भने ‘हटकेक’ हो । यहाँ भारतबाट आउने मालवाहक गाडीबाट दैनिक असुली हुने गर्दछ ।
बेलिहयामा ट्राफिक प्रहरीको असुलीसँगको घटना समय समयमा बाहिरिने गर्दछ । बेलहियामा असुली धन्दा चलाउँदा ट्राफिक इन्सपेक्टर नै ‘प्रदेश ट्राफिक कार्यालय बुटवल’मा तानिएको लगायत अनेकौ घटनाहरु छन् ।
भर्खरै आएको प्रमुख कार्कीले बेलहिया लगायत पोष्ट्हरुमा असुली जारी राख्छिन् वा समय-समयमा हाकिमहरुले आफ्ना अफिसरहरुलाई ‘गुनासो नआउने गरी काम गर्नू’ भने झै गर्छिन ? त्यो हेर्न बाँकी छ ।

