
काठमाडौं, ४ मंसिर। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रसूति भवन निर्माणमा भ्रष्टाचार गरेको दावीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन कार्यालय प्रमुख अशोक कुमरा सिंहसित ६ जनाविरुद्ध सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा बिहीवार विशेष अदालतमा आरोप पत्र दायर गरेको हो। उनीहरुविरुद्ध १५ लाख ८ हजार ५५७ बिगो माग गरिएको छ।
Advertisement

Advertisement
Advertisement

तत्कालीन निमित्त कार्यालय प्रमुख सिंह, शिक्षा विकास तथा समन्वय इकाइका तत्कालीन इन्जिनियर सुनेश कुमार चौरसिया, तत्कालीन सब इन्जिनियर नरेश रावतविरुद्ध मुद्दा दायर भएको हो।
यसैगरी प्रसूति केन्द्र भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष पारस रोकाया, सचिव मुना रोकाया र कोषाध्यक्ष खडक ऐडीलाई मुद्दामा विपक्षी बनाउँदै आयोगले आरोप पत्र दायर गरेको हो।
हिमाली गाउँपालिका ६स्थित प्रसूति केन्द्र भवन निर्माण कार्य लागत अनुमान अनुसार नगरी बढी भुक्तानी गरी रकम हिनामिना गरेको र निर्मित संरचनासमेत भग्नाबशेषको अवस्थामा रहेकाले सार्वजनिक सम्पत्तिमा हानिनोक्सानी पुर्याइ भ्रष्टाचार गरेको उनीहरुमाथि आरोप छ।
आर्थिक वर्ष २०७५र०७६ मा बाजुरा हिमाली गाउँपालिका(६ मा प्रसूति केन्द्र भवन निर्माणका लागि स्वास्थ्य कार्यालय बाजुराबाट २० लाख र उपभोक्ता समितिबाट ६ लाख १५ हजार २ सय रुपैयाँ व्यहोर्नेगर कन्टेन्जेन्सी सहित २६ लाख १५ हजार २०६ रुपैयाँ रकममा २०७६ जेष्ठ मसान्तभित्र कार्य सम्मन्न गर्नेगरी स्वास्थ्य कार्यालय र प्रसूति केन्द्र भवन निर्माण उपभोक्ता समितिबीच सम्झौता भएको थियो ।
तर तत्कालीन निमित्त कार्यालय प्रमुख सिंहसहित ६ जनाले बदनीयत राखी लागत अनुमान बमोजिम काम गरेको भनी झुठ्ठा बिल तथा कार्य सम्पन्न प्रतिवेदन तयारी गरी गराइ १५ लाख ८ हजार ५५७ रुपैयाँ भुक्तानी दिएको देखिएको अख्तियारको ठहर छ। कमसल सामान प्रयोग गर्दा भवन भग्नावशेषमा परिणत भइ १५ लाख ८ हजार ५५७ मूल्य बराबरको सार्वजनिक सम्पत्तिको हिनामिना हानिनोक्सानी र दुरुपयोग गरेको तथ्य अनुसन्धानबाट खुलेको अख्तियारको दावी छ।

