


भैरहवा,८ मंसिर। गृहमन्त्री ओमप्रकाश अर्यालले रुपन्देहीको बेलहिया सीमा क्षेत्रमा निर्माणाधिन अवस्थामा रहेको एकीकृत जाँच पोष्ट् (आईसीपी) र सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म (डण्डा) रुपन्देही निरीक्षण गरेका छन्।
मंगलबारदेखि भैरहवामा सुरु हुने लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठीका लागि भैरहवा पुगेका मन्त्री अर्यालले जाँच चौकीका पूर्वाधारको प्रगतिबारे जानकारी लिएका थिए। साथै उनले लुम्बिनीको मायादेवी मन्दिरको दर्शन गर्दै लुम्बिनी क्षेत्रको समग्र सुरक्षा तथा व्यवस्थापनबारे जानकारी समेत जुटाए।

निरीक्षणका क्रममा गृह सचिव रामेश्वर दंगाल, नेपाल प्रहरी आईजीपी दानबहादुर कार्की, सशस्त्र प्रहरीका आईजीपी राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्की, रुपन्देहीका प्रमुख जिल्ला अधिकारीसहित प्रदेश तथा जिल्ला सुरक्षा निकायका प्रमुखहरु सहभागी थिए।
भैरहवा भन्सार कार्यालयका प्रमुख हरिहर पौडेलले जाँच चौकीको भौतिक प्रगति ७९ प्रतिशत र वित्तीय प्रगति ७७ प्रतिशत पुगेको विवरण मन्त्रीसमक्ष प्रस्तुत गरे।
सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्मको भ्रमणका क्रममा मन्त्री अर्यालले नेपाल–भारत सीमामा हुनसक्ने अवैध ओसारपोसार, राजस्व चुहावट तथा अवान्छित गतिविधि रोकथाममा कठोर हुन निर्देशन दिए। साथै, नेपाली नागरिकलाई सीमामा अनावश्यक समस्या नपर्ने वातावरण बनाउन सुरक्षा निकायलाई सचेत रहन आग्रह गरे।

