
काठमाडौं,१० मंसिर। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका केन्द्रीय सदस्यहरुलाई प्रदेश इन्चार्ज बनाउने निर्णय गरेको छ।
पार्टीको मंगलवार बसेको सचिवालय बैठकले हालका प्रदेश इन्चार्जहरुलाई आगामी निर्वाचन केन्द्रित गतिविधिमा जिम्मेवारी प्रदान गर्ने र प्रदेश इन्चार्जको भूमिका केन्द्रीय सदस्यहरुलाई बनाउने निर्णय गरेको हो।
Advertisement

Advertisement
Advertisement

बैठकमा विभिन्न राजनीतिक दल, समूह र व्यक्तिहरुसँग भएको संवाद र प्रगति सम्बन्धमा उच्च संवाद समितिको तर्फबाट ब्रिफिङ भएको रास्वपाले जनाएको छ।
सम्भाव्य राजनीतिक ध्रुवीकरण र सहकार्यलाई तार्किक निष्कर्षमा पुर्याउन केन्द्रीय समितिको यही मंसिर ३ गते बसेको बैठकको निर्देशानुसार अघि बढ्न सचिवालयबाट आवश्यक सहजीकरण गर्ने निर्णयसमेत रास्वपाले गरेको छ।
रास्वपाले सुशासन र द्रूत विकासप्रति समर्पित सबै वैकल्पिक शक्तिहरु मुलुकको अर्थ(राजनीतिक संरचनामा आमूल परिवर्तन गर्न सक्ने सामूहिक सामर्थ्य बनाउन एकजुट हुन आह्वान पनि गरेको छ।
सो पार्टीको केन्द्रीय अनुशासन आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय लेखा आयोगमा रहेको रिक्त पदपूर्तिका लागि केन्द्रीय समिति सदस्यहरुबाट योग्य पात्रहरुको नाम सिफारिस गर्ने निर्णय बैठकले गरेको छ।
देशका सबै पालिकामा पार्टीको र्यापिड एक्सन टिम गठन गर्ने र सोका लागि प्रदेश एवं जिल्ला संगठनलाई निर्देशन दिने निर्णय भएको छ। रास्वपाले कार्यसम्पादन मूल्यांकन प्रतिवेदनका आधारमा पार्टी विधानको धारा ७० बमोजिम कीर्तिपुर नगर समिति विघटन गर्ने निर्णयसमेत गरेको छ।

