
भैरहवा, ११ मंसिर। रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराधको अभियोगमा पूर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा आज पनि सुनुवाइ स्थगित भएको छ।
उच्च अदालत तुलसीपुर बुटवल इजलासको न्यायाधीशद्वय मिलनकुमार राई र सानुमैया डंगोलको ३ नं इजलासमा मुद्दाको पेशी तोकिएको थियो। तर लामिछाने तर्फका कानुन व्यवसायीले स्थगितको निवेदन दिएपछि सुनुवाइ स्थगित भएको अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिए।
Advertisement

Advertisement
Advertisement

यसअघि मंसिर ४ गते पनि लामिछानेका कानुन व्यवसायीले स्थगितको निवेदन दिएपछि सुनुवाइ स्थगित भएको थियो।
लामिछानेसहितका प्रतिवादीलाई १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरेर अभियोग पत्र दायर गरिएको छ। लामिछानेले चार भागमध्ये आफ्नो एक भागको बिगो रकम २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत दाखिला गर्दा जिल्ला अदालत रुपन्देहीले रिहा गर्न अस्वीकार गरेको थियो ।
जोशीले पनि बिगोबापतको जमानत पेस गरेका थिए। तर,दुवै प्रतिवादीको हकमा भागमा कति बिगो कायम हुने भन्ने नै यकिन नभएकाले रिहा गर्न नमिल्ने एकै प्रकृतिको आदेश भएको थियो।
बिगो बमोजिमको रकम बुझाएर थुना बाहिर बसेर मुद्दा लड्न पाउँ भनी दुवैजनाले उच्च अदालतमा निवेदन दिएका थिए। लामिछाने पूर्पक्षका लागि नख्खु कारागारमा छन् भने जोशी भैरहवा कारागारमा छन् ।

