


काठमाडौं,११ मंसिर । नेपाली कांग्रेसमा महाधिवेशनको विषय सहमती जुट्न नसक्दा केन्द्रीय कार्यसमितिको बैठक स्थगित हुँदै गएको छ ।
बिहीवारका लागि डाँकिएको बैठक महाधिवेशनबारे सहमति नभएपछि फेरी शुक्रबार दिउँसो २ बजेसम्मका लागि स्थगित भएको पार्टीको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

बुधवार महामन्त्रीद्वय गगन थापा र विश्वप्रका शर्माले कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग छलफल गरेका थिए। तर सहमति हुन नसकेपछि बैठक एक दिन पर धकेलिएको हो। सभापति शेरबहादुर देउवाले मध्यमार्गी बाटो तय गर्न खोजको दुई साता बित्दा पनि निचोड निस्किएको छैन। बरु नेताहरुमा पार्टी फुटको संशय बढ्न थालेको छ ।
पुसभित्रै महाधिवेशन नभए राजीनामा दिने चेतावनी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले दिएका छन्। कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पनि पार्टी फुट्नेगरी कुनै निर्णय नलिने बरु पद छाड्ने बताएका छन्।
यही बेला संस्थापन पक्ष पुसमै नियमित महाधिवेशन गर्न सकारात्मक भएको छ। तर, महामन्त्रीसहित विशेष महाधिवेशन पक्षधर भने तालिका आए पनि महाधिवेशन हुनेमा आफै सशंकित छन्।

