


काठमाडौं, ११ मंसिर। जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय मुक्ति पार्टी र नागरिक उन्मुक्ति पार्टी नेपाल एउटै चुनाव चिह्न लिएर संयुक्त रुपमा आगामी निर्वाचनमा प्रतिस्पर्धा गर्ने भएका छन्।
जसपाका अध्यक्ष अशोक राई, राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतो र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले संयुक्त चुनाव चिह्नका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

अशोक राईले जसपाको कुनै पनि नेपाली कम्युनिष्ट पार्टीसँग एकता नहुने र चुनावपछि पनि कुनै कम्युनिष्ट पार्टीमा मिसिने योजना नभएको स्पष्ट पारे। उनका अनुसार तीन पार्टी मिलेर एउटै चिह्नबाट चुनाव लड्ने र जसपा समाजवाद र संघीयता आत्मसात गर्ने मार्गमै रहनेछ।
रेशमलाल चौधरीले राजनीतिको स्वभाव नै टुटफुट भए पनि मूल मुद्दामा अडिग रहन सकिनु महत्वपूर्ण हुने बताए।
त्यस्तै, राजेन्द्र महतोले मूल्य–मान्यताको आधारमा एकता गर्न सके विभाजनका सम्भावना कम हुने उल्लेख गरे।

