


काठमाडौं,११ मंसिर । नेपाली कम्युनिस्ट पार्टीका नेता कृष्णबहादुर महरालाई उच्च अदालत पाटनले धरौटीमा रिहा गर्न आदेश गरेको छ। इलेक्ट्रिक सिगरेट (भेप) मार्फत भएको सुन तस्करी प्रकरणमा उनी पूर्पक्षका लागि थुनामा थिए ।
बिहीबार उच्च अदालतका न्यायाधीशद्वय अर्जुनप्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको संयुक्त इजलासले पूर्वसभामुख समेत रहेका महरालाई २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश गरेको हो।

काठमाडौं जिल्ला अदालतले पूर्पक्षका लागि थुनामा पठाउने गरेको आदेशलाई बदर गर्दै उच्च अदालतले महराको उमेर, स्वास्थ्य अवस्था र मिसिलमा देखिएका प्रमाणहरुका आधारमा थुनामा राखिराख्न नपर्ने ठहर गरेको हो।
उच्च अदालतको आदेशमा भनिएको छ, ‘प्रतिवादीको उमेर र स्वास्थ्य अवस्था समेतका समग्र परिस्थिति तथा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७२ समेतलाई विचार गर्दा हाल प्रतिवादी कृष्णबहादुर महराबाट २० लाख नगद धरौटी वा सो बराबरको जमानत लिई मुद्दा पुर्पक्षका लागि तारेखमा राख्नु।’
अदालतले महराको नाम मूल जाहेरीमा उल्लेख नभएको, सअभियुक्तहरुले पोल नगरेको र तत्काल प्राप्त प्रमाणहरुका आधारमा उनलाई थुनामै राखेर मुद्दाको पूर्पक्ष गर्नुपर्ने अवस्था नदेखिएको (संहिताको दफा ६७ बमोजिम) उल्लेख गरेको छ।
२०७९ पुस १० मा चिनियाँ नागरिक लि हासोङ्गले इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर ल्याएको सुन तस्करीमा संलग्न कसुरमा उनी विरुद्ध सीआइबीले अनुसन्धान गरेको थियो । जिल्ला अदालत काठमाडौँले असोज २९ गते महरालाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो।
हेर्नुहोस् आदेश :



