


लुम्बिनी, २५ मंसिर । लुम्बिनी बौद्ध विश्वविद्यालयमा कन्फ्युसियस इन्स्टिच्युटको स्थापना भएको छ। चीनको बेईजिङमा भएको एक कार्यक्रमकाबीच कन्फ्युसियस इन्स्टिच्यूटको ब्राण्ड लुम्बिनी बौद्ध विश्वविद्यालयलाई हस्तान्तरण गरिएको हो।
बुद्ध जन्मस्थल र अन्तर्राष्ट्रिय चिनियाँ भाषा शिक्षाको सहकार्यबाट नयाँ सभ्यता संवाद मञ्च स्थापना हुने उद्देश्यसहति कन्फ्युसियस इन्स्टिच्यूटको स्थापना गरिएको लुम्बिनी बौद्ध विश्वविद्यालयले जनाएको छ।

सन् २०२५ नोभेम्बरमा बेइजिङ राष्ट्रिय सम्मेलन केन्द्रमा आयोजित २०२५ विश्व चिनियाँ भाषा सम्मेलनको क्रममा नेपाल लुम्बिनी बौद्ध विश्वविद्यालय कन्फ्युसियस इन्स्टिच्यूटको हस्तान्तरण समारोह विशेष कार्यक्रमभित्र भव्य रुपमा सम्पन्न भएको थियो।
चिनियाँ अन्तर्राष्ट्रिय चिनियाँ भाषा शिक्षा कोषका अध्यक्ष याङ वेइले र बेइजिङ भाषा विश्वविद्यालयका अध्यक्ष प्रा.डा. त्वान फङले लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा.डा.सुबर्णलाल बज्राचार्यलाई संयुक्त रुपमा कन्फ्युसियस इन्स्टिच्यूटको ब्राण्ड प्रदान गरेका थिए। लुम्बिनी बौद्ध विश्वविद्यालय कन्फ्युसियस इन्स्टिच्यूट बेइजिङ भाषा विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालयको संयुक्त सहस्थापनामा सञ्चालन हुनेछ। जसको समर्थन र सहकार्य अन्तर्राष्ट्रिय चिनियाँ भाषा शिक्षा कोषले गर्नेछ।
कन्फ्युसियस इन्स्टिच्यूटको उच्च गुणस्तरीय व्यवस्थापन र सञ्चालन सुनिश्चित गर्न, दुवै पक्षको सहमतिअनुसार चिनियाँ र नेपाली पक्षका निर्देशक रही चिनियाँ भाषा विकासमा काम गर्ने जनाइएको छ। चीनबाट कन्फ्युसियस इन्स्टिच्यूटको निर्देशकको रुपमा बेइजिङ भाषा विश्वविद्यालयको डा.काओ रुई सन् २०२५ सेप्टेम्बर ५ देखि औपचारिक रुपमा पदस्थापित भएका छन्।
नेपाली पक्षका निर्देशक डा. कुमार खड्काले कन्फ्युसियस इन्स्टिच्यूट स्थापनाले प्राज्ञिक विकासमा महत्वपूर्ण योगदान हुने बताए। कन्फ्युसियस इन्स्टिच्यूटका दुवै निर्देशकहरुले संयुक्त रुपमा शिक्षण, अनुसन्धान र सांस्कृतिक आदानप्रदान कार्यक्रमहरु अगाडि बढाउने, द्विपक्षीय स्थायी सहकार्य संयन्त्र स्थापित गर्ने र कन्फ्युसियस इन्स्टिच्यूटलाई क्षेत्रीयस्तरको प्रभावशाली शिक्षा–संवाद मञ्चका रुपमा विकास गर्ने लक्ष्य लिएका छन्।

