


काठमाडौं,२६मंसिर। फौजी पोसाक लगाएर मनोरञ्जनात्मक टिकटक र रिल्स बनाएकोमा २ सय १२ जना कर्मचारीहरुलाई कारवाही गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरी बलको प्रधान कार्यालयका प्रवक्ता एंव डीआईजी मनिष थापाका अनुसार विभिन्न सामाजिक सञ्जालमा पोसाक प्रयोग गरी भिडियो बनाउनु आचारसंहिताविपरीत भएको कारण उनीहरुलाई कारबाही गरिएको हो।

कारबाहीमा परेका कर्मचारीहरुलाई नसिहत, बढुवा रोक्का, चेतावनी, सचेत, ध्यानाकर्षण र मौखिक सम्झाइबुझाइ गरिएको उनले बताए।
सशस्त्र प्रहरीले आफ्ना कर्मचारीका सामाजिक सञ्जाल गतिविधि अनुगमन गर्न प्रधान कार्यालयमा सामाजिक सञ्जाल अनुगमन शाखा स्थापना गरेको छ।
उक्त शाखाको स्क्रिनिङ प्रक्रिया अन्तर्गत सामाजिक सञ्जालमा अनुचित गतिविधि गर्ने कर्मचारीहरुलाई कारबाही गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

