
काठमाडौं,१ पुस । चालु आर्थिक वर्ष २०८२/८३ को मंसिरसम्मको राजश्व संकलन लक्ष्यभन्दा कम भएको छ।
अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार चालु आर्थिक वर्ष २०८२/८३ का लागि तोकिएको १४ खर्ब ८० अर्ब रुपैयाँको वार्षिक राजश्व लक्ष्यमध्ये मंसिरसम्म ५ खर्ब २० अर्ब ४४ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको थियो। तर, मंसिर २० गतेसम्म जम्मा ४ खर्ब ९ अर्ब ७८ करोड रुपैयाँ मात्रै राजस्व संकलन भएको छ । जुन लक्ष्यको ७८ दशमलव ७४ प्रतिशत हो।
Advertisement

Advertisement
Advertisement

मंसिर महिनाका लागि ९५ अर्ब २० करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य रहेकामा ८० अर्ब २७ करोड रुपैयाँ मात्रै संकलन भएको अर्थ मन्त्रालयले जनाएको छ। यो लक्ष्यको ८४ दशमलव ३१ प्रतिशत हो। मंसिर २९ गते मात्रै ३ अर्ब ४४ करोड रुपैयाँ राजस्व संकलन भएको मन्त्रालयको विवरणमा उल्लेख छ।
तुलनात्मक रुपमा अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा वार्षिक राजश्व लक्ष्य १४ खर्ब १९ अर्ब ३० करोड रुपैयाँ रहेको थियो। उक्त वर्ष मंसिरसम्म ४ खर्ब ९५ अर्ब २ करोड रुपैयाँ राजश्व उठाउने लक्ष्य लिइएकोमा मंसिर २९ गतेसम्म ४ खर्ब ५ अर्ब ७७ करोड रुपैयाँ संकलन भएको थियो। सो वर्ष मंसिर महिनामा मात्र ७६ अर्ब ७६ करोड रुपैयाँ राजश्व संकलन भएको थियो।
अर्थ मन्त्रालयका अनुसार आर्थिक गतिविधि अपेक्षा अनुसार विस्तार हुन नसक्दा राजस्व संकलनमा दबाब देखिएको हो। जेनजी आन्दोलनका कारण उद्योग धन्दामा परेको असरले राजश्व संकलनमा असर परिरहेको बताइएको छ।

