


काठमाडौं,२ पुस। भारतको नयाँ दिल्लीमा पुस २ देखि ४ गतेसम्म परम्परागत चिकित्सासम्बन्धी दोस्रो डब्लूएचओ शिखर सम्मेलन आयोजना गरिएको छ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को विश्वव्यापी परम्परागत चिकित्सा रणनीति २०२५–२०३४ द्वारा निर्देशित यस सम्मेलन जनकेन्द्रित स्वास्थ्य सेवा तथा पृथ्वीको समग्र कल्याणमा परम्परागत चिकित्सा प्रणालीहरुले कसरी सार्थक योगदान पुर्याउन सक्छन् भन्ने विषयमा केन्द्रित हुने बताइएको छ।

सन् २०२३ मा सम्पन्न पहिलो सम्मेलनको सफलता र ऐतिहासिक गुजरात घोषणापत्रको आधारमा सन् २०२५ को सम्मेलनले परम्परागत चिकित्सा प्रणालीलाई आकार दिने विज्ञान र ज्ञानका विषयमा गहिरो छलफल गर्ने जनाइएको छ।
यस सम्मेलनले विश्वका नेता, वैज्ञानिक, परम्परागत चिकित्सा अभ्यासकर्ता तथा समदायहरुलाई एकै ठाउँमा ल्याई सहकार्यलाई प्रबद्र्धन गर्ने, डब्लूएचओको नयाँ वैश्विक परम्परागत चिकित्सा रणनीति २०२५–२०३४ को कार्यान्वयनलाई अघि बढाउने तथा गुजरात घोषणापत्रलाई ठोस कार्यान्वयनमा ल्याउने लक्ष्य राखेको छ।

