


भैरहवा, ३ पुस । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी सहकारी संस्थाको रकम ठगी र संगठित अपराधको अभियोगमा पूर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा बिहीवार भएको बहस सकिएको छ ।
उच्च अदालत तुलसीपुर बुटवल इजलासका न्यायाधीशद्धय वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासमा बहस भएको थियो ।

गत मंसिर २५ गते ‘हेर्न नमिल्ने’ मा परेर पेशी स्थगित भएको थियो त्यसअघिका तोकिएका केही पेशी लामिछाने र जोशीका कानुन व्यवसायीको निवेदनमा स्थगित भएको थियो ।
उच्च अदालत तुलसीपुर बुटवल इजलासका सूचना अधिकारी राम बहादुर कुँवरले बिहीवार एक नम्बर इजलासमा चढेको पेशीमा भएको बहस सकिएको बताए ।
‘इजलासमा बहस सकिएर मिसिल अध्ययन भइरहेको छ’, उनले क्लिक लुम्बिनीसँग भने,‘आदेश अझै आइसकेको छैन । केही समयमा आउँछ ।’
अदालतले एउटै प्रकृतिको मुद्दा भएकोले रवि र छविको मुद्दा एकैसाथ राख्न यस अघि आदेश गरेको थियो । लामिछाने सहितका प्रतिवादीलाई १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरेर अभियोग पत्र दायर गरिएको छ ।
लामिछानेले चार भागमध्ये आफ्नो एक भागको बिगो रकम २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत दाखिला गर्दा जिल्ला अदालत रुपन्देहीले रिहा गर्न अस्वीकार गरेको थियो ।
छविलाल जोशीले पनि बिगोबापतको जमानत पेस गरेका थिए । तर, दुवै प्रतिवादीको हकमा भागमा कति बिगो कायम हुने भन्ने नै यकिन नभएकाले रिहा गर्न नमिल्ने एकै प्रकृतिको आदेश भएको थियो।
बिगो बमोजिमको रकम बुझाएर थुना बाहिर बसेर मुद्दा लड्न पाउँ भनी उच्च अदालतमा निवेदन दिएकोमा अदालतले दुवै मुद्दा साथै राख्ने आदेश गरेको थियो । लामिछाने पूर्पक्षका लागि नख्खु कारागारमा छन् भने जोशी भैरहवा कारागारमा छन् ।

