
काठमाडौं,१३ पुस। निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०८२ स्वीकृत गरेको छ। तर, कहिलेबाट लागु हुने भन्ने निर्णय गरिएको छैन।
आचारसंहितामा निर्वाचित दल वा उमेदवारले प्रत्येक वर्ष घोषणाापत्र अनुसार कार्यप्रगति प्रतिवेदन सार्वजनिक गर्नुपर्ने विषय राखिएको छ। त्यस्तै विगतमा नभएको हरित निर्वाचन सम्बन्धि आचारणको विषय राखिएको छ।
Advertisement

Advertisement
Advertisement

अगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा एक उम्मेदवारले प्रचारप्रसारमा दुईभन्दा बढी गाडी प्रयोग गर्न नपाउने व्यवस्था गरिएको छ।
निर्वाचन अधिकृतको अनुमति लिई उम्मेदवार भएको सम्बन्धित निर्वाचन क्षेत्र वा उम्मेदवार भएको स्थानमा आयोगले तोके बमोजिम बढीमा दुईवटा दुईपांग्रे वा तीनपांग्रे वा चारपांग्रे विद्युतीय तथा यान्त्रिक शक्तिबाट चल्ने सवारीसाधन र त्यस्ता सवारीसाधन नचल्ने ठाउँमा बढीमा चारवटा घोडा प्रयोग गर्न सक्ने व्यवस्था आचारसंहितामा राखिएको छ।
राजनीतिक दल, उम्मेदवार, पार्टीका भातृसंगठन तथा सम्बन्धित व्यक्तिले सवारीसाधन प्रयोग गर्दा विदेशी नम्बर प्लेटलाई अनुमति नदिइने आचारसंहितामा उल्लेख छ।
त्यस्तै हेलिकोप्टर सेवा प्रयोग गर्दा आयोगले निर्धारण गरेको समानुपातिक निर्वाचन प्रणालीबमोजिम बन्दसूचीका उम्मेदवारको संख्याका आधारमा राजनीतिक दलले गर्न पाउने खर्चको सीमाभित्र रहेर गर्नुपर्ने पनि उल्लेख छ।

