


काठमाडौं,१३ पुस। नेपाली कांग्रेसले विगतका निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिनेहरु माथिको कारबाही फुकुवा गरेको छ।
पार्टीको कार्यसम्पादन समितिको बैठकले बागी उम्मेदवारी दिनेहरु माथिको कारबाही फुकुवा गरेको हो।

केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले पार्टीका तल्ला कमिटीलाई गरिएको परिपत्रमा भनिएको छ, ‘विगतका निर्वाचनमा पार्टीको उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवारविरुद्ध उम्मेदवारी दिने, प्रस्तावक वा समर्थक भएर अनुशासन विपरीत काम गर्ने व्यक्तिहरुलाई केन्द्रीय अनुशासन समितिले गरेको निष्काशन, निलम्बन वा पार्टीको विधानअनुसार स्वतः लाग्ने कारबाहीको बाँकी अवधि माफी/मिनाहा गरिने निर्णय गरिएको छ।’
त्यसैगरी, कारबाही माफी/मिनाहा भएका व्यक्तिहरुको पार्टीमा वहाल रहेको पद कायम नरहने गरी क्रियाशील सदस्यताको निरन्तरता कायम गरिने र आवश्यक परे क्रियाशील नवीकरण गर्ने निर्णय पनि गरिएको छ।

