
भैरहवा,१४ पुस । लुम्बिनीमा आयोजित तीन दिवसीय तेस्रो लुम्बिनी न्युज फेस्टिवल १५ बुँदे लुम्बिनी घोषणा पत्र–२०८२ जारी गर्दै सकिएको छ ।
लुम्बिनी प्रेस क्लब, रुपन्देहीद्धारा तीन दिवसीय आयोजित न्युज फेस्टिवल सोमबार घोषणा पत्र जारी गर्दै सम्पन्न भएको क्लबका उपाध्यक्ष तथा कार्यक्रम संयोजक दीपेन्द्र बडुवालले जानकारी दिए ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

घोषणा पत्रमा मोफसलको पत्रकारितालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बहसको केन्द्रमा स्थापित गर्न लुम्बिनी न्युज फेस्टिवललाई नियमित र दिगो प्लेटफर्मका रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।
यस्तै, तथ्यमा आधारित, जिम्मेवार र सकारात्मक पत्रकारितामार्फत् नेपाल–भारत सीमापार सम्बन्धलाई सुदृढ बनाउने विषयमा सञ्चारकर्मीको भूमिका अझ प्रभावकारी बनाउने, लुम्बिनी, कपिलवस्तु र आसपासका क्षेत्रमा हुने तथ्यविहीन, अपुष्ट र नकारात्मक प्रचारप्रति सचेत रहँदै सत्य र सन्तुलित समाचार प्रवाहलाई प्राथमिकता दिने, बुद्ध जन्मस्थल लुम्बिनीलाई धार्मिक तीर्थस्थल मात्र नभई दक्षिण एसियासँगै विश्वभरकै महत्वपूर्ण पर्यटन, सांस्कृतिक र संवाद केन्द्रका रुपमा प्रवद्र्धन गर्न सञ्चारमाध्यमले सक्रिय भूमिका खेल्ने, लुम्बिनीको पर्यटन प्रवद्र्धन, लगानी आकर्षण र आर्थिक विकासका लागि स्थानीय सरकार, प्रदेश सरकार, लुम्बिनी विकास कोष, निजी क्षेत्र र सञ्चार क्षेत्रबीच सहकार्य अपरिहार्य गर्ने छन् ।
त्यस्तै लुम्बिनी गुरुयोजना समयमै सम्पन्न गर्न सम्बन्धित निकायलाई जिम्मेवार बनाउँदै पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न पत्रकारिताको निगरानी भूमिकालाई सशक्त बनाउने, सीमावर्ती क्षेत्रका साझा समस्या, अवसर र सहकार्यका सम्भावनालाई पत्रकारितामार्फत सन्तुलित र गहिरो ढंगले उठाउने विषयलाई प्राथमिकतामा राख्ने, मोफसलमा आधारित खोज, विश्लेषण र नीतिगत पत्रकारितालाई प्रोत्साहन गर्न तालिम, अध्ययन, अन्तरक्रिया र सहकार्य कार्यक्रम विस्तार गर्न जोड दिने, प्रेस स्वतन्त्रताको संरक्षण, पत्रकारको सुरक्षा र पेशागत मर्यादाको सम्मान सुनिश्चित गर्न राज्य र सम्बन्धित निकायको ध्यानाकर्षण गराउने, पत्रकारितामा प्रश्न गर्ने साहस, जिम्मेवारीबोध र जवाफदेहिताको संस्कृतिलाई बलियो बनाउन सम्पादकीय नेतृत्व र सञ्चार संस्थाले अग्रसरता लिने प्रतिबद्धता व्यक्त गरिएको छ ।
त्यसैगरी पर्यटन, लगानी र विकाससँग जोडिएका स्थानीय मुद्दालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्चमा पुर्याउन डिजिटल मिडिया र नयाँ प्रविधिको प्रभावकारी प्रयोग गर्ने, नेपाल–भारत पत्रकारबीच अनुभव आदानप्रदान, सहकार्य र संयुक्त अध्ययनलाई निरन्तरता दिन क्षेत्रीय पत्रकार सञ्जाल विस्तार गर्ने घोषणा पत्रमा उल्लेख छ ।
संघीय संरचनाअनुसार प्रदेश र स्थानीय तहका नीति, योजना र कार्यान्वयन प्रक्रियामा पत्रकारिताको भूमिका अझ प्रभावकारी बनाउन पहल गर्ने, लुम्बिनी न्युज फेस्टिवलमा उठाइएका बहस, सुझाव र निष्कर्षलाई कार्यान्वयनमा लैजान नियमित अनुगमन र संवादको संयन्त्र विकास गर्ने र तेस्रो लुम्बिनी न्युज फेस्टिवल सफल बनाउन सहआयोजक, सहकार्य गर्ने सरकारी तथा निजी क्षेत्र, नेपाल पत्रकार महासंघ, प्रेस काउन्सिल नेपाल, सहभागी वक्ता, पत्रकार र स्थानीय समुदायप्रति धन्यवाद ज्ञापन गर्ने घोषणा पत्रमा जनाइएको छ ।
घोषणा पत्र लेखनको संयोजक लुम्बिनी प्रेस क्लबका संस्थापक अध्यक्ष माधव ढुंगानाले गरेका थिए भने यसको सदस्यहरुमा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष रामप्रसाद आचार्य, नेपाल पत्रकार महासंघ रुपन्देही शाखा सचिव सीपी खनाल र लुम्बिनी प्रेस क्लबका पूर्वअध्यक्ष दीपेश पछाई रहेका थिए ।

