


काठमाडौं,२९ पुस। भारतको हिमाचल प्रदेशमा ग्यास सिलिण्डर विस्फोट हुँदा ९ जना नेपालीको मृत्यु भएको छ।
द न्यूज हिमाचलका अनुसार मंगलबार बिहान हिमाचलको सोलन जिल्लास्थित अर्की बजारमा ग्यास सिलिण्डर विस्फोटपछि भएको आगलागीमा ९ जना नेपालीको मृत्यु भएको हो ।

मृतकहरु सबै सल्यानको सिद्धकुमार गाउँपालिका–२ टाकुराका रहेको गाउँपालिका अध्यक्ष भरत गिरिले बताए। मृतक सबै एउटै गाउँका दुई परिवारका ९ जना रहेका छन् ।
मृत्यु हुनेहरुमा ३३ वर्षीय धनबहादुर विक, उनकी ३२ वर्षीया श्रीमती कविता विक, १६ वर्षीया छोरी राधा, १० वर्षीया छोरी रेणुका र २२ महिनाको छोरा राजन रहेका छन् ।
त्यस्तै ४६ वर्षीय काशीराम विक, उनकी ३२ वर्षीया श्रीमती टीका विक, ११ वर्षीया छोरी अनु र ७ वर्षीय छोरा किरण रहेका छन् । उनीहरुका दुवै परिवार करिब दुई वर्षदेखि रोजगारीका सिलसिलामा भारतमा बस्दै आएका थिए।
आगलागी राति करिब २ देखि ३ बजेको बीचमा भएको द न्यूज हिमाचलले समाचारमा उल्लेख गरेको छ । आगलागी नेपाल मूलका परिवारको घरबाट सुरु भएको बताइएको छ। घरभित्र राखिएका ६–७ वटा एलपी ग्यास सिलिन्डरमा आगो सल्किएको अनुमान गरिएको छ। सिलिन्डरहरु एकपछि अर्को विस्फोट हुँदा आगो तीव्र रुपमा फैलिएको बताइएको छ।

