


काठमाडौं,२९ पुस। नेपालबाट गत सन् २०२५ मा ५ सय १ जना विदेशी नागरिकलाई डिपोर्ट गरिएको छ ।
अध्यागमन विभागका अनुसार डिपोर्ट गरिएकामध्ये ४ सय ३७ जना पर्यटक भिसामा १ सय ५० दिनभन्दा बढी समय ओभरस्टे गरेर बसेको र ६४ जना आपराधिक गतिविधिमा संलग्न थिए ।

भिसाको उद्देश्यविपरीत नेपालमा बसोबास गर्ने, लागूऔषध कारोबार, मानव बेचबिखन, संगठित अपराध, विदेशी मुद्रा अपचलन तथा अभद्र व्यवहारजस्ता कसुरमा संलग्न भई सजायँ भुक्तान गरिसकेकाहरुलाई डिपोर्ट गरिएको अध्यागमन विभागले जनाएको छ ।
सन् २०२५ मा ३६ विभिन्न मुलुकका १ सय १६ जना विदेशी नागरिकलाई नेपाल प्रवेशमा रोक लगाइएको छ ।
अध्यागमन विभागका अनुसार भिसाको म्याद सकिएको, भिसाको उद्देश्यविपरीत नेपाल प्रवेश गर्न खोजेको, विगतमा शंकास्पद गतिविधिमा संलग्न रहेको, आपराधिक अभिलेख भेटिएको वा सुरक्षा जोखिम देखिएको अवस्थालाई आधार मानेर विदेशी नागरिकलाई प्रवेशमा रोक लगाइएको हो । यसका साथै पटक–पटक अध्यागमन नियम उल्लंघन गर्ने व्यक्तिलाई पनि नेपाल प्रवेश निषेध गरिएको बताइएको छ।
गृह मन्त्रालय मातहतको अध्यागमन विभागले पछिल्लो समय राष्ट्रिय सुरक्षा, मानव बेचबिखन नियन्त्रण, संगठित अपराध र अवैध गतिविधि रोकथामलाई प्राथमिकतामा राख्दै भिसा तथा प्रवेश प्रक्रियामा कडाइ गरेको जनाएको छ।
विभागका अनुसार विदेशी नागरिकको नेपाल आगमन बढेसँगै जोखिम मूल्यांकन, डकुमेन्ट जाँच र प्रोफाइलिङ प्रणालीलाई थप प्रभावकारी बनाइएको छ। आवश्यक मापदण्ड पूरा नगर्ने वा नेपालका लागि जोखिम देखिएका विदेशीलाई प्रवेश अनुमति नदिइने नीति निरन्तर रहने विभागले स्पष्ट पारेको छ।

