


भैरहवा, २ माघ। आगमी फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि रुपन्देहीमा मुख्यसहित निर्वाचन अधिकृतहरुको कार्यालय स्थापना गरिएको छ ।
जिल्ला निर्वाचन अधिकारी कल्पना अर्यालका अनुसार भैरहवास्थित बाल मन्दिरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापाना गरिएको र शुक्रवार अन्य क्षेत्रमा पनि निर्वाचन अधिकृतको कार्यालय स्थापनाको तयारी छ ।

रुपन्देहीका मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतले निर्वाचनलाई स्वतन्त्रपूर्वक, शान्तिपूर्ण सम्पन्न गराउन राज्यका संयन्त्र लागिपरेको बताए। उनले निर्वाचनलाई शान्तिपूर्ण बनाउन राजनीतिक दलको ठूलो भूमिका रहेको र सहयोगको अपेक्षा रहेको बताए।
निर्वाचन आचारसंहिता पालना गर्न उनले राजनीतिक दलहरुलाई आग्रह गर्दै आचारसंहिता पालना नभए कानूनी कुराहरु अघि बढाउनुपर्ने बताए।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माधव प्रसाद पोखरेलले फागुन २१ हुन गइरहेको प्रतिनिधि सभाको निर्वाचनका लागि सम्पूर्ण सुरक्षा व्यवस्था मिलाइएको बताए। उनले निर्वाचन सफल बनाउन सहयोग गरिदिन सबैलाई आग्रह गरे।
रुपन्देहीमा २०९ मतदानस्थल र ७३२ वटा मतदान केन्द्र तोकिएको छ। जिल्लामा ३ लाख २६ हजार ३ सय ११ महिला, ३ लाख ४६ हजार २ सय ३ पुरुष र ९ जना अन्य गरी ६ लाख ७२ हजार ५ सय २३ जना मतदाता छन् ।

