
काठमाडौं,१२ माघ । भारतको ७७औँ गणतन्त्र दिवसको अवसरमा नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तवले नेपाल–भारत सम्बन्ध ऐतिहासिक, बहुआयामिक र रणनीतिक साझेदारीमा आधारित रहेको बताएका छन्। जारी गरिएको सन्देशले उनले यो सम्बन्ध साझा सभ्यता, संस्कृति र जनस्तरको गहिरो सम्बन्धबाट निर्देशित रहेको उल्लेख गरे।
प्रधानमन्त्री नरेन्द्र मोदीको ‘सबका साथ, सबका विकास, सबका विश्वास, सबका प्रयास’ र ‘वसुधैव कुटुम्बकम्’को दर्शन छिमेकी राष्ट्रहरुसँगको सहकार्यमा प्रतिबिम्बित हुने उनको भनाइ छ। नेपाललाई भारतको ‘छिमेकी पहिलो नीति’को केन्द्रीय स्तम्भका रूपमा उल्लेख गर्दै पछिल्ला उच्चस्तरीय भेटघाटले आपसी विश्वास थप बलियो बनेको बताए।
Advertisement

Advertisement
Advertisement

राजदूत श्रीवास्तवले नेपालको लोकतान्त्रिक प्रक्रिया र सन् २०२६ मा हुने निर्वाचनका लागि भारतले प्राविधिक तथा सामग्रीगत सहयोग उपलब्ध गराउने जानकारी दिए। व्यापार, पारवहन, रेल कनेक्टिभिटी र भन्सार सहजीकरणका पहलले द्विपक्षीय तथा तेस्रो मुलुकसँगको व्यापार विस्तार हुने विश्वास व्यक्त गरे।
ऊर्जा सहकार्य, विशेषगरी नेपालबाट भारततर्फ विद्युत निर्यात, दुवै देशका लागि लाभदायी हुने बताए। साथै ‘इन्डिया–नेपाल स्टार्टअप पार्टनरसिप नेटवर्क’मार्फत युवाहरुबीच सहकार्य र नवप्रवर्तन प्रवर्द्धन भएको उल्लेख गरे।
प्राकृतिक विपत्तिका बेला भारतले ‘फर्स्ट रेस्पोन्डर’का रुपमा सहयोग गर्दै आएको उल्लेख गर्दै भारतको ७७औँ गणतन्त्र दिवसले लोकतन्त्र, साझेदारी र आपसी विश्वासका आधारमा अघि बढिरहेको नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने सन्देश दिएको उनको निष्कर्ष छ।

