

काठमाडौं,१२ माघ । नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले पार्टी नेतृत्वको अधिनायकवादी शैली नरोकिए पार्टी फुट्ने चेतावनी दिएका छन् ।
सोमबार सामाजिक सञ्जालमार्फत उनले माओवादी केन्द्र र एकीकृत समाजवादीबिच एकीकरण घोषणा भएको लामो समय नेकपाको नेतृत्वदायी कमिटी नै नबनाउने र संस्थागत निर्णय प्रक्रिया विकसित नहुँदा पार्टी फुटतर्फ जाने चेतावनी दिएका हुन्।
Advertisement

Advertisement
Advertisement
कतिपय निर्णय एकैचोटी सार्वजनिक सञ्चारमाध्यमबाट थाहा पाउनु आश्चर्यजनक घटनाहरु भएको भन्दै उनले पार्टीलाई संस्थागत ढंगले अगाडि बढाउन जोड दिए। उनले वरिष्ठ नेताहरु माथि स्पष्टीकरण दिने मौका पनि नदिकन पार्टीबाट निष्कासन गर्ने, अन्य पार्टीबाट आउने नेताहरुको संस्थागतरुपमा जानकारीसम्म नदिने गरेको भन्दै आपत्ति जनाए।
पूर्वप्रधानमन्त्री खनालले जनता र राष्ट्रले सम्पूर्ण देशभक्त, लोकतान्त्रिक, प्रगतिशील र सच्चा कम्युनिष्टहरु बीच नीतिनिष्ठ र दरो एकताको माग गरिरहेको बताए।
नेता खनालले हरिबोल गजुरेलमाथिको कारबाही तत्काल फिर्ता लिन र नेतृत्व तहमा रहेका नेताहरुको आकस्मिक बैठक बोलाउन संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग माग गरेका छन् ।
उनले लेखेका छन्– यदि यो नेपाली कम्युनिष्ट पार्टीलाई सच्चा कम्युनिष्ट पार्टी बनाउने हो भने यस प्रकारका कारबाहीलाई अविलम्ब स्थगित गर्न, क। हरिबोल गजुरेलसहित नेतृत्वदायी तहमा रहेका कमरेडहरूको आकस्मिक बैठक बोलाउन, किन यस्ता कदम चाल्नुपर्यो यस बारेमा पार्टीभित्र दोहोरो र गम्भीर छलफल गर्न, यस घटनाक्रमको समीक्षा गर्न, पार्टीमा अधिनायकवादी शैली होइन सामूहिक निर्णय र नेतृत्व प्रणालीलाई स्थापित गर्न नेपाली कम्युनिष्ट पार्टीका संयोजक कमरेड प्रचण्डसँग म जोडदार माग गर्दछु ।’





