


काठमाडौं,१२ माघ । नेपाल र साउदी अरेबियाबीच श्रम सम्झौता भएको छ।
नेपालतर्फ श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्र सिंह भण्डारी र साउदीतर्फ मानव संशाधन तथा सामाजिक विकास मन्त्री अहमद बिन सुलेमान अलराजीले सम्झौतामा हस्ताक्षर गरेका छन्। यस सम्झौताले सामान्य श्रमिकका सेवा सुविधा, कामको अवस्था,सामाजिक सुरक्षा, स्वास्थ्य सेवा, गुनासो व्यवस्थापन तथा श्रमिक अधिकार संरक्षणलाई प्राथमिकतामा राखेको छ।

मन्त्री भण्डारीले सम्झौताले नेपाल–साउदी श्रम सहकार्यलाई संस्थागत र मजबुत बनाउने विश्वास व्यक्त गर्दै भर्ती प्रक्रिया पारदर्शी,न्यायोचित र लागत–प्रभावकारी हुने बताए। उनले भविष्यमा साउदी जाने नेपाली श्रमिकको सेवा सुविधा सुरक्षित र स्थायी हुनेमा आशा व्यक्त गरे।
नेपाल सरकारले २०७२ सालदेखि घरेलु कामदारमा रोक लगाएको थियो। ०७५ सालमा मन्त्रिपरिषद्को निर्णयअनुसार न्यूनतम १३०० रियालभन्दा कममा कामदार नपठाउने नीति लागू गरिएको थियो। विगतमा शून्य लागतमा श्रम सम्झौता गर्ने प्रस्ताव भए पनि ठोस वार्ता हुन सकेको थिएन।
यस सम्झौताले श्रमिकको तलब सुरक्षा,दोहोरो करारपत्रको अन्त्य,अत्यधिक लागत नियन्त्रण, कामदार ठगी तथा मानव बेचबिखन रोकथाममा सहयोग गर्ने अपेक्षा गरिएको छ। साथै श्रमिकको न्यायमा पहुँच सुनिश्चित गर्ने र रोजगारदाताको जिम्मेवारी स्पष्ट पार्ने लक्ष्य राखिएको छ।

