
भैरहवा, १९ माघ। प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताका लागि लुम्बिनी प्रदेशको टिम तयारका निम्ति सोमबारदेखि प्रदेशस्तरीय छनोट प्रतियोगिता सुरु भएको छ ।
लुम्बिनी प्रदेश क्रिकेट संघको आयोजनामा प्रधानमन्त्री कप एक्स्ट्रिम इनर्जी ड्रिंक लुम्बिनी प्रदेशस्तरीय पुरुष एक दिवसीय क्रिकेट छनोट प्रतियोगिता भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशाला र तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल क्रिकेट रंगशालामा हुनेछ।
Advertisement

Advertisement
Advertisement

माघ २४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा लुम्बिनी प्रदेशका ७ वटा जिल्लाका टीम सहभागी हुने खेल संयोजक एवं संघका प्रदेश सदस्य प्रथम पराजुलीले जानकारी दिए।
उनका अनुसार प्रतियोगितामा रुपन्देही, पश्चिम नवलपरासी, पाल्पा, कपिलवस्तु, दाङ, बाँके र बर्दियाका टीम प्रतयोगितामा सहभागी हुनेछन्। क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) बाट मान्यता नपाएकाले प्रदेशका अन्य जिल्लाका प्रतियोगितामा सहभागिता नरहेको आयोजकले जनाएको छ ।
टाइटल स्पोन्सर एक्स्ट्रिम इनर्जी ड्रिंक उत्पादक कम्पनी एग्रो थाई फूड्सका प्रबन्धक राम बहादुर क्षेत्रीले हरेक खेलकुदलाई उकास्न कम्पनीले सहयोग गरिरहेको बताए।
आयोजकका अनुसार छनोट खेलका विजेता र उपविजेता टीमले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। त्यस्तै प्लेयर अफ द म्याचले ११ हजार १ सय ११ र प्रत्येक दिनको म्यान अफ द म्याचले १ हजार १ सय रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताबारे जानकारी दिने उद्देश्यले आयोजित पत्रकार सम्मेलनमा आयोजकले टिमको जर्सी र ट्रफी सार्वजनिक गरेको थियो ।

