
भैरहवा, २० माघ । रुपन्देहीको भैरहवामा जारी प्रधानमन्त्री कप एक्स्ट्रिम इनर्जी ड्रिंक लुम्बिनी प्रदेशस्तरीय पुरुष एक दिवसीय क्रिकेट छनोट प्रतियोगिता बाँके र दाङ विजयी भएका छन् । लुम्बिनी प्रदेश क्रिकेट संघको आयोजनामा भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा भएको खेलमा बाँकेले पाल्पालाई ५ विकेट र दाङले कपिलवस्तुलाई २ विकेटले पराजित गर्दै विजयी भएको हो।
मंगलबारको खेलमा टस जितेर ब्याटिङमा रोजेको पाल्पाले निर्धारित ४३ ओभरमा ३४ ओभर ४ बलमा सबै विकेट गुमाएर १ सय १६ रन बनायो । उसका लागि रुपेश बस्यालले ३०, रोशन घिमिरले २१, नरबहादुर सार्कीले १४ र नविन भण्डारीले ११ रन बनाए । बलिङमा बाँकेका लभकुश यादवले ४, सलाउद्दिन खान र निश्चल आचार्यले २–२ तथा सिद्धान्तराज शाहीले १ विकेट हात पारे ।
Advertisement

Advertisement
Advertisement

जवाफी ब्याटिङ गरेको बाँकेले २२ ओभर ३ बलमा ५ विकेट गुमाएर १ सय १९ रन बनाउँदै जित निकाल्यो । उसको जितमा सुनिल भण्डारीले अविजित २४, मोहम्मद सहदाब अन्सारीले २३, रोशन केसीले २०, सलाउद्दिन खानले नटआउट १६ र सिद्धान्तराज शाहीले १४ रनको योगदान गरे । बलिङमा पाल्पाका रुपेश बस्यालले २ तथा केशव परई, नरबहादुर सार्की र मनिष न्यौपानेले समान १–१ विकेट लिए । खेलमा लभकुश यादव प्लेयर अफ द म्याच घोषित भई पुरस्कृत भए ।
यस्तै, तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल क्रिकेट रंगशालामा भएको अर्को खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको कपिलवस्तुले ४८ ओभर ३ बलमा सबै विकेट गुमाएर २ सय ३ रन बनायो । उसका लागि रौनक श्रीवास्तवले ६१ रनको अर्धशतकीय पारी खेल्दा मोहम्मद हुसेन गद्दीले ४२, मोहम्मद सबोज मुसलमानले २६ र शिव कुँवरले १८ रन जोडे । बलिङमा दाङका वीरबहादुर घर्तीले ४, राजकुमार कुमालले २ तथा शुभम खनाल, दिनेश बोहरा र मोहन खत्रीले समान १–१ विकेट लिए ।
प्रतिउत्तरमा दाङले ४३ ओभर ४ बलमा ८ विकेट गुमाएर २ सय ४ रन बनाउँदै जित निकाल्यो । उसको जितमा हेमराज सापकोटाले ६७, शिशिर डीसीले ३० र शुभम खनालले १४ रनको योगदान गरे । बलिङमा कपिलवस्तुका शिव कुँवरले ३, मोहम्मद हुसेन गद्दी र रौनक श्रीवास्तवले २–२ तथा महेश भरले १ विकेट लिए । खेलमा वीरबहादुर घर्ती प्लेयर अफ द म्याच घोषित भई पुरस्कृत भए ।
माघ २४ गतेसम्म चल्ने प्रतियोगितामा लुम्बिनी प्रदेशका सात जिल्लाका टीम सहभागी छन् । छनोट खेलको विजेता र उपविजेता टिमले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, प्लेयर अफ द म्याचले ११ हजार १ सय ११ र प्रत्येक दिनको म्यान अफ द म्याचले १ हजार १ सय रुपैयाँ प्राप्त गर्ने खेल संयोजक प्रथम पराजुलीले जनाए ।

