


काठमाडौं,२९ माघ । नेपालमा अपराध गरेर विदेशमा फरार भएका दश जनालाई अन्तरराष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) सँगको समन्वयमा विभिन्न देशबाट पक्राउ गरेर ल्याइएको छ ।
नेपाल प्रहरीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अबि नारायण काफ्लेका अनुसार चालु आर्थिक वर्षमा ११ जनाविरुद्ध ‘रेड नोटिस’ र तीन जनाविरुद्ध ‘डिफ्युजन नोटिस’ जारी भएको थियो । जसमध्ये रेड नोटिस जारी भएका आठ र डिफ्युजन जारी भएका दुई जनालाई इन्टरपोलको समन्वयमा पक्राउ गरी नेपाल ल्याइएको हो ।

गत आर्थिक वर्षमा ३४ जनाविरुद्ध रेड नोटिस र दुई जनाविरुद्ध डिफ्युजन नोटिस जारी भएकोमा १७ जना रेड नोटिस जारी भएका र तीन जना डिफ्युजन नोटिस जारी भएकालाई पक्राउ गरी नेपाल फिर्ता ल्याइएको थियो ।
इन्टरपोलसँगको समन्वयमा फरार प्रतिवादीहरुलाई पक्राउ गर्न एवं अन्तरराष्ट्रियस्तरमा फरार प्रतिवादीहरुलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन नेपाल प्रहरी क्रियाशील रहेको बताउँदै उनले अपराध गरेर विश्वको जुनसुकै कुनामा लुके पनि पक्राउ गरेर कानुनी दायरामा ल्याइने बताए ।
फरार प्रतिवादीहरुको अन्तरराष्ट्रियस्तरमा खोजतलासको लागि नेपाल प्रहरीअन्तर्गतको नेशनल सेन्ट्रल ब्यूरो (एनसिबी) को अनुरोधमा इन्टरपोल महासचिवालयले नोटिस जारी गर्ने गरेको छ।

