


भैरहवा, ४ फागुन । रुपन्देहीमा जनता समाजवादी पार्टी (जसपा) नेपाल को प्रतिनिधिसभा सदस्य पदको प्रत्यक्षतर्फका उम्मेदवार नै नेकपा एमालेमा प्रवेश गरेका छन् ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सदस्य श्रीनिवास यादव रुपन्देही निर्वाचन क्षेत्र नं. ३ बाट उम्मेदवारी दिएर चुनावी मैदानमा होमिएका थिए । सोमबार उनले पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेको जनाए ।

एमालेका केन्द्रीय सदस्य भुमिश्वर ढकालले यादवको पार्टी प्रवेशले रुपन्देही–३ मा पार्टी विजयीको सुनिश्चित भएको दावी गरे ।
‘मतदाताको मनोभावनालाई समेत मध्यनजर गर्दै र अहिलेको विषम राष्ट्रिय परिस्थितिलाई ध्यानमा राख्दा मुलुकको राजनीतिक स्थायीत्व र निकासका लागि नेकपा एमालेले नै मुलुकको प्रमुख राजनीतिक शक्तिको रुपमा स्थापित हुने देखिएको छ’, एमाले पार्टी प्रवेश गर्दै यादवले जारी गरेको प्रेस विज्ञप्तीमा भनिएको छ–‘आजका मितिदेखि जनता समाजवादी पार्टी (जसपा), नेपालको साधारण सदस्यसहित सम्पूर्ण जिम्मेवारी परित्याग गर्दै मेरो उम्मेदवारी समेत फिर्ता लिदैं नेकपा (एमाले) मा समाहित भएको घोषणा गर्दछु ।’
रुपन्देही–३ मा नेकपा एमालेबाट वासुदेव घिमिरे उम्मेदवार छन् ।

