
भैरहवा, ४ फागुन । भैरहवास्थित सिद्धार्थनगर सिटी हस्पिटल प्रालिमा मानसिक रोग र पेट तथा कलेजो रोग उपचार सेवा सुरु गरिएको छ । अस्पतालले पत्रकर सम्मेलनको आयोजना गरी अस्पतालको विभिन्न सेवासँगै सोमबारदेखि मानसिक रोग र पेट तथा कलेजो रोग उपचार सेवा सुरु गरिएको जनाएको छ ।
स्थानीय स्तरमै विशेषज्ञ सेवा उपलब्ध गराउने उद्देश्यले नयाँ विभाग सुरु गरिएको अस्पतालका प्रबन्ध निर्देशक अर्जुन पौडेलले बताए।
Advertisement

Advertisement
Advertisement

‘स्वास्थ्य क्षेत्रमा पछिल्लो समय मानसिक स्वास्थ्यसम्बन्धी समस्या बढ्दो अवस्थामा देखिएको छ’, उनले भने, ‘त्यसैलाई मध्यनजर गर्दै हामीले यो उपचार सेवा गरेका हौं । अब सामान्य समस्याका लागि पनि बाहिर जानुपर्ने बाध्यता हट्ने हाम्रो विश्वास छ।’
अस्पतालका अनुसार मानसिक रोग विभागअन्तर्गत डिप्रेसन, चिन्ता (एन्जाइटी), तनाव, निद्रासम्बन्धी समस्या, डर, व्यवहारिक समस्या, लागूऔषध दुरुपयोगलगायत विभिन्न मानसिक स्वास्थ्य समस्याको परामर्श, उपचार तथा नियमित फलोअप सेवा उपलब्ध हुनेछ।
नियमित ओपीडी सेवासँगै २४ सै घण्टा भर्ना सेवा र गोप्य परामर्शको व्यवस्था गरिएको अस्पतालले जनाएको छ। विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र युसीएमएस भैरहवामा अनुभव हासिल गरेका मनोचिकित्सक तथा मनोपरामर्शदाता डा. संजिव रंजनको टोलीले सेवा दिने जनाइएको छ।
त्यसैगरी, पेट तथा कलेजो रोग विभागअन्तर्गत इन्डोस्कोपी र कोलोनोस्कोपी सेवा सञ्चालनमा ल्याइएको अस्पतालले जनाएको छ। वरिष्ठ फिजिसियन तथा ग्यास्ट्रोएन्टेरोलोजी विशेषज्ञ डा. मनिश विश्वकर्माले दैनिक रुपमा सेवा प्रदान गर्ने जानकारी दिइएको छ।
यस सेवा अन्तर्गत पेट दुख्ने, ग्यास्ट्रिक, अल्सर, कलेजोसम्बन्धी रोग, जन्डिस, आन्द्रासम्बन्धी समस्या तथा पाचन प्रणालीसम्बन्धी विभिन्न रोगहरुको परीक्षण र उपचार गरिनेछ। सामान्यदेखि जटिल पाचनसम्बन्धी समस्या भएका बिरामीले विशेषज्ञ परीक्षणका लागि अन्यत्र धाउनुपर्ने अवस्था अन्त्य भएको बताउँदै सुलभ शुल्कमा सेवा दिने उनले प्रतिबद्धता व्यक्त गरे ।
नयाँ विशेषज्ञ सेवा थपिएसँगै सिद्धार्थनगर तथा आसपासका जिल्लाका नागरिकलाई अझ भरपर्दो र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने विश्वास अस्पतालले व्यक्त गरेको छ।

