
काठमाडौं, ७ फागुन। प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा एमालेले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ।
एमालेको केन्द्रीय निर्वाचन परिचालन कमिटीद्वारा आयोजित चुनावी घोषणापत्रमा आधारित बहस ‘देश पहिला’ कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली : राष्ट्रिय आकाङ्क्षा हाम्रो गन्तव्य’ भन्ने मूल नारासहितको घोषणापत्र सार्वजनिक गरे।
Advertisement

Advertisement
Advertisement

एमाले नेतृत्वको सरकार गठन भएमा पहिलो मन्त्रिपरिषद् बैठकबाटै कार्यान्वयनमा लैजाने गरी ११ वटा मुख्य प्राथमिकता निर्धारण गरिएका छन्।
यस्ता छन् ११ वटा मुख्य प्राथमिकता
१) युवालाई निःशुल्क डेटा : १८ देखि २८ वर्ष उमेर समूहका युवालाई एक वर्षसम्म मासिक १० जीबी इन्टरनेट डेटा निःशुल्क उपलब्ध गराइने।
२) स्टार्टअपलाई डलर कार्ड : युवा उद्यमीलाई अन्तर्राष्ट्रिय कारोबार सहज बनाउन १० हजार अमेरिकी डलर बराबरको बैंक कार्ड सुविधा दिइने।
३) वैदेशिक रोजगारीमा रहेकालाई प्रोत्साहन : विदेशबाट रेमिट्यान्स पठाउने श्रमिकको खातामा वार्षिक ५ हजार रुपैयाँ थप गरिदिने र उनीहरुलाई सामाजिक सुरक्षामा आबद्ध गर्ने।
४) विद्यार्थीलाई निर्ब्याजी ऋण : प्राविधिक उच्च शिक्षाका लागि विद्यार्थीलाई २० लाख रुपैयाँसम्म निर्ब्याजी ऋण र न्यूनतम पारिश्रमिकसहितको इन्टर्नसिपको व्यवस्था गर्ने।
५) निःशुल्क प्याड र दिवा खाजा : विद्यालयका किशोरीलाई निःशुल्क प्याड र कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजाको प्रबन्ध गर्ने।
६) श्रमिकको पारिश्रमिक वृद्धि : श्रमिकको न्यूनतम मासिक पारिश्रमिक २५ हजार रुपैयाँ पुर्याउने र सबैलाई सामाजिक सुरक्षामा समेट्ने।
७) शिक्षकको मर्यादाक्रम : शिक्षकहरुको मर्यादाक्रम तोक्ने र निजी तथा सामुदायिक विद्यालयका शिक्षकलाई सामाजिक सुरक्षा प्रणालीमा जोड्ने।
८) स्वास्थ्य स्वयंसेविकालाई भत्ता : स्वास्थ्य स्वयंसेविकाको वार्षिक प्रोत्साहन भत्ता २० हजार पुर्याउने।
९) महिला उद्यमशीलता : उद्यमी महिलालाई २० लाख रुपैयाँसम्म निर्ब्याजी ऋण दिने र गर्भवती महिलाका लागि ५ लाखको निःशुल्क जीवन बीमा तथा २० हजार रुपैयाँ मातृशिशु पोषण भत्ता उपलब्ध गराउने।
१०) ऋण मिनाहा : गरिब परिवारको रूपमा पहिचान भएका घरपरिवारले २०८२ भदौसम्म बैंकबाट लिएको २५ हजार रुपैयाँसम्मको ऋण मिनाहा गर्ने।
११) सुरक्षाकर्मीको सम्मान : बहालवाला तथा अवकाशप्राप्त सुरक्षाकर्मीहरूको पेशागत मर्यादा र कल्याण सुनिश्चित गर्ने।

