


काठमाडौं,७ फागुन। निर्वाचनको प्रचारका क्रममा उम्मेदवारहरुले छत खुला ‘रुफटप भेहिकल’ प्रयोग गर्ने विषयमा केन्द्रीय सुरक्षा समितिले रोक लगाउने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले उम्मेदवारहरुको सुरक्षालाई ध्यानमा राख्दै यस्तो निर्णय गरेको हो।
गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको बैठकमा सुरक्षा निकायका प्रमुखहरु तथा भर्चुअल माध्यमबाट प्रदेश र जिल्ला सुरक्षा समितिका अधिकारीहरु सहभागी थिए। गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेका अनुसार, उम्मेदवारहरुको सुरक्षालाई मध्यनजर गर्दै त्यस्ता गाडीको प्रयोग गर्न निरुत्साहित गर्ने निर्णय भएको हो ।

हाल देशभर छत खुला गाडीबाट प्रचार गर्ने चलन बढेकाले सुरक्षा जोखिम हुन सक्ने निष्कर्ष निकालिएको बताइएको छ।
बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी राम्रो रहेको र निर्वाचन अवधिभर जिल्ला सुरक्षा समितिको दैनिक बैठक बस्ने र संयुक्त गस्ती बढाउनुपर्ने निष्कर्ष निकालिएको छ।

