
भैरहवा, ११ फागुन । जनता समाजवादी पार्टीका नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसको मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को कुनै स्पष्ट धारणा नरहेको आरोप लगाएका छन् ।
मधेसको भोट बटुल्ने रणनीति अनुसार प्रधानमन्त्री बनाउने भन्दै रास्वपाले बालेनलाई पार्टीमा भित्राएपछि भएको चुनावी चर्चाप्रति टिप्पणी गर्दै उनले सामाजिक संजालमा चर्चा भएपनि यथार्थ अवस्था त्यस्तो नदेखिएको बताए ।
Advertisement

Advertisement
Advertisement

सोमबार रुपन्देहीको मर्चवारमा चुनावी सभालाई सम्बोधन गर्न आएका यादवले पार्टीद्वारा भैरहवामा आयोजित पत्रकार सम्मेलनमा उनले प्रश्न गर्दै भने, ‘उहाँले (बालेन) मधेसी जनताको अधिकारको लडाइँ हुँदाखेरि कहाँ हुनुहुन्थ्यो ? मधेसको मुद्दामा उहाँको कुनै धारणा छैन । राष्ट्रिय राजनीतिमा कुनै धारणा सुनिदैन, वैचारिक के हो स्पष्ट थाहा छैन, दर्शन के हो थाहा छैन, मुद्दा के हो थाहा छैन ।’
उनले मधेस, आदिवासी, जनजाती लगायतका मुद्दा तथा राष्ट्रिय समस्याहरु जसपा नेपालले उठाउँदै आएकोले मधेसका जनताले उक्त विषय राम्रोसँग बुझेको दावी गरे ।
उनले राजनीतिक अस्थिरताको मूल कारण सशाकीय स्वरुप पनि रहेको उल्लेख गर्दै मुलुक ठूलो खतरामा परेको बताए । संघीयता, गणतन्त्र, राष्ट्रिय मुद्दाको पक्षधरसँग मात्रै गठबन्धन गर्न सकिने उनले स्पष्ट पारे ।
पार्टीका वरिष्ठ नेता तथा रुपन्देही-४ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार सर्वेन्द्रनाथ शुक्लाले मधेश आन्दोलनको बेला राज्यले निर्दोश नागरिकको हत्या गर्दा आफूहरु संयमित भएर आन्दोलन अगाडी बढाएको बताए। ‘राज्यको अर्थतन्त्रलाई बचाएनौं भने भोली त्यसको भोगाइमा हामी पनि पर्छौं भन्ने कुरामा जहिले पनि सर्तक छौं,’उनले भने।

