


भैरहवा, १३ फागुन। प्रतिनिधिसभा सभा सदस्यको निर्वाचनमा रुपन्देहीको क्षेत्र नम्बर ३ बाट नेकपा (एमाले) का उम्मेदवार वासुदेव घिमिरेले सुशासन कायम, भ्रष्टाचार नियन्त्रण र सन्तुलित विकास आम नागरिकले अपेक्षा राखेको बताएका छन् ।
उनले नागरिकका उक्त अपेक्षा पूरा गर्न आफूले डटेर नेतृत्व गर्ने प्रतिवद्धता व्यक्त गरे।

एमाले रुपन्देही क्षेत्र नम्बर ३ अन्तर्गत सिद्धार्थनगर नगरपालिका–६ को निर्वाचन परिचालन तथा प्रचारप्रसार कार्यालयको उद्घाटन गर्दै घिमिरेले यो क्षेत्रसँग जोडिएका समग्र कामहरुको नेतृत्व गर्ने बताए। यस क्षेत्रका नागरिकले भोगेका तमामा समस्या संसद्मा लगेर मुखारित गर्ने कुराको नेतृत्व गर्ने उनको भनाई छ।
नेकपा (एमाले) ले लिएको लक्ष्य, नीतिले देशको विकास हुने भएकाले आगामी निर्वाचनमा पार्टीका उम्मेदवारहरुलाई जिताउन घिमिरेले आग्रह गरे।
त्यस्तै एमाले क्षेत्रीय कमिटी सदस्य तथा वडाको निर्वाचन परिचालन समितिका संयोजक राम दयाल गुप्ताले घरदैलोको क्रममा बासुदेव घिमिरेलाई मतदान गर्ने मतदाताको बुझाइ रहेको पाइएको दावी गरे।
तिलोत्तमा नगरपालिकाको संस्थापक नगरप्रमुखको जिम्मेवारी सम्हाल्दा बासुदेव घिमिरेले राम्रो काम गरेर तिलोत्तमालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन सफल भएको पार्टीको भनाई छ।
एमाले केन्द्रीय अनुशासन आयोगका सदस्य राजेन्द्र प्रसाद पन्थीको प्रमुख आतिथ्यता, सिद्धार्थनगर–६ कमिटीको उपाध्यक्ष अनिता थापाको स्वागत तथा अध्यक्ष मदन प्रसाद पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।

