


अमेरिका,२९ फागुन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प अहिले इरानसँगको युद्धका कारण कठिन परिस्थितिमा पुगेका छन्। उनी अहिले स्पष्ट रुपमा विजय घोषणा गर्न सक्ने अवस्थामा देखिँदैनन्। युद्ध विस्तार हुँदै जाँदा नियन्त्रण कमजोर हुँदै गएको जस्तो देखिन्छ र युद्धबाट बाहिरिने निर्णय लिइयो भने आर्थिक तथा रणनीतिक परिणाम अझ गम्भीर हुन सक्ने संकेतहरु पनि देखिएका छन्। यसले युद्धको अवस्था झन् जटिल बन्दै गएको संकेतहरु देखिन थालेको छ।
१. होर्मुज जलडमरु मार्ग बन्द

इरानले विश्वको करिब पाँचौं भाग तेल ओसारपसार हुने महत्वपूर्ण मार्ग होर्मुज बन्द गरेपछि युद्धको दायरा विस्तार भएको छ। अमेरिकासँग ठूलो सैन्य शक्ति भए पनि केवल सैन्य बल प्रयोग गरेर सबै समस्या समाधान गर्न नसकिने देखिएको छ। यो मार्ग बन्द हुँदा अमेरिकी नौसेनालाई यसलाई पुनः खोल्न अत्यन्त जोखिमपूर्ण र कठिन सैन्य चुनौती सामना गर्नुपर्ने भएको छ ।
२. युद्धका आर्थिक असर
होर्मुज मार्ग बन्द भएपछि विश्व बजारमा तेलको मूल्य बढेको छ। खाडी क्षेत्रमा ट्यांकरहरुमा आक्रमण र बीमा लागत बढेकाले अन्तर्राष्ट्रिय व्यापारमा असर परेको छ।
३. अमेरिकाभित्रै सुरक्षा जोखिम
युद्धका कारण अमेरिकाभित्र पनि तनाव बढेको देखिएको छ। भर्जिनिया र मिशिगनमा भएका हिंसात्मक घटनाले मध्यपूर्वको युद्धको असर घरेलु सुरक्षामा पनि पर्न सक्ने संकेत दिएको छ।
४.इरानको नेतृत्व परिवर्तन
युद्धको सुरुवाती आक्रमणमा पूर्व सर्वोच्च नेता आयातोल्लाह अलि खामेनी मारिएपछि उनका छोरा मोज्ताब खामेनी नयाँ सर्वोच्च नेता बने। यसले शासन परिवर्तनको लक्ष्य पूरा भयो भन्ने अमेरिकी दाबी कमजोर बनाएको छ। साथै, सर्वोच्च नेता मोज्ताब खामेनीले अडियो सन्देश जारी गर्दै नागरिकको हत्याको बदला लिइने घोषणा गरेका छन् ।
५. इजरायलसँग रणनीतिक मतभेद सम्भावना
अमेरिकाले युद्ध अन्त्य गर्न चाहे पनि बेन्जामिन नेतान्याहु नेतृत्वको इजरायलले युद्ध जारी राख्न सक्ने सम्भावना रहेको विश्लेषकहरु बताउँछन् । यसले अमेरिकाको युद्ध रणनीति जटिल बनाउन सक्छ ।
६. इरानको परमाणु कार्यक्रम छैन अझै समाप्त
अमेरिकाले इरानको परमाणु कार्यक्रम ध्वस्त पारेको दाबी गरे पनि इरानसँग अझै करिब २०० किलो उच्च समृद्ध युरेनियम रहेको अनुमान गरिएको छ। यदि त्यो भण्डार सुरक्षित रह्यो भने इरानले भविष्यमा पुनः परमाणु कार्यक्रम सुरु गर्न सक्ने सम्भावना रहन्छ ।
७. इरानभित्र जनविद्रोह नदेखिनु
ट्रम्पले इरानी जनतालाई सरकारविरुद्ध उठ्न आह्वान गरे पनि हालसम्म ठूलो जनविद्रोह देखिएको छैन। धेरै विश्लेषकका अनुसार युद्धपछि इरान सरकारले अझ कडा दमन गर्न सक्ने सम्भावना छ ।
अमेरिका–इजरायलको संयुक्त हवाई आक्रमणले इरानको सैन्य क्षमतामा केही क्षति पुर्याएको हुन सक्छ। तर युद्ध अझै स्पष्ट रुपमा जितिएको छैन । युद्धको अन्त्य प्रायः स्पष्ट विजय वा हारमा हुँदैन। त्यसैले ट्रम्प प्रशासन अहिले सैन्य शक्ति, राजनीतिक दबाब र आर्थिक असरबीचको जटिल अवस्थाको सामना गरिरहेको देखिन्छ। –अन्तर्राष्ट्रिय संचारमाध्यमको सहयोगमा ।

