
विराटनगर,३ चैत। सिटिजन्स बैंक इन्टरनेशनलमा करिब पाँच करोड रुपैयाँ हिनामिना भएको भन्दै प्रहरी कार्यालयमा जाहेरी परेको छ।
बैंकको आन्तरिक छानबिनका क्रममा विराटनगरस्थित कञ्चनबारी शाखामा नक्कली ऋणी खडा गरेर चार करोड ९१ लाख रुपैयाँभन्दा बढी रकम हिनामिना भएको पाइएपछि बैंक प्रशासनले जिल्ला प्रहरी कार्यालय मोरङमा जाहेरी दिएको हो ।
Advertisement

Advertisement
Advertisement

रकम हिनामिनामा बैंकका कर्मचारीहरुकै प्रत्यक्ष संलग्नता देखिएको छ । बैंकका सूचना अधिकारी नारायणराज अधिकारीका अनुसार, नियमित रुपमा गरिने आकस्मिक लेखापरीक्षणका क्रममा ऋण लगानीमा शंकास्पद विवरणहरु भेटिएका थिए ।
केही कर्मचारीको मिलेमतोमा नक्कली ऋणीका नाममा ऋण प्रवाह गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। ‘नक्कली ऋणी खडा गरेको देखिएपछि हामीले सूक्ष्म अध्ययन गर्यौं,’ उनले भने, ‘अनुसन्धानका क्रममा अधिकारको दुरुपयोग गरी बैंकलाई नोक्सानी पुर्याएको देखिएपछि हामीले प्रहरीमा जाहेरी दिएका छौं।’
बैंक प्रशासनले उक्त शाखाको सञ्चालन विभाग प्रमुख (अपरेशन हेड) रोजी कँडेललाई मुख्य योजनाकारका रुपमा औंल्याएको छ। कँडेलले अन्य ४–५ जना कर्मचारीको ‘युजर आइडी’ समेत दुरुपयोग गरेर ऋण स्वीकृत गराएको बैंकको दाबी छ।
घोटाला सार्वजनिक हुनुपूर्व नै बैंकले आन्तरिक रुपमा क्षतिपूर्तिको प्रयास गरेको बुझिएको छ। बैंकले रोजी कँडेलको परिवारबाट ७ करोड रुपैयाँ बराबरको जग्गा धितो राखेर मात्र फागुन २८ गते प्रहरीमा जाहेरी दिएको थियो। अर्कोतर्फ, मुख्य आरोपित भनिएकी रोजी कँडेलले भने आफूलाई मात्र निशाना बनाइएको र अन्य दोषीलाई जोगाउन बैंकले फसाउन खोजेको दाबी गरेकी छन्। उनले पनि जिल्ला प्रहरी कार्यालय मोरङमा निवेदन दिएकी छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका एसपी कवित कटवालले घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको बताए। प्राविधिक र प्रशासनिक विषयमा स्पष्टताका लागि बैंकलाई पत्राचार गरिएको र अनुसन्धान पश्चात को को संग्लन रहेको विषय खुल्ने बताए ।
सिटिजन्स बैंकको कञ्चनबारी शाखबाट करिब पाँच वर्षअघि पनि ऋण अपचलन भएको थियो। त्यसबेला तत्कालीन शाखा प्रमुख रुपेश राजवंशी कारबाहीमा परेका थिए। उनले पुरानो घटनाको विषयमा जानकारी नभएको बताए ।

