


डोल्पा, ९ चैत। ठूलो परिमाणमा जडीबुटीसहित चार जनालाई नियन्त्रणमा लिइएको छ ।
श्री सङ्ग्राम सार्दुल गुल्मका उपसेनानी सुशील दाहालको कमान्डमा नेपाली सेना र शे फोक्सुण्डो राष्ट्रिय निकुञ्ज प्रशासन कार्यालयका सिनियर गेम स्काउटको संयुक्त टोलीले त्रिपुरासुन्दरी नगरपालिका–१, त्रिपुराकोट क्षेत्रमा करिब ३५ क्विन्टल पदमचाल जडीबुटी र दुई ट्याक्टरसहित चार जनालाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा त्रिपुरासुन्दरी–५ का ३६ वर्षीय नरेश बुढा, सल्यान कुमाख गाउँपालिका–४ का २५ वर्षीय एलिश बुढा (चालक), रुकुमपश्चिम आठबिस नगरपालिका–७ का ४८ वर्षीय कृष्ण विक (चालक) तथा त्रिपुरासुन्दरी–५ का ३३ वर्षीय विकास रोकाया छन्।
निकुञ्ज क्षेत्रबाट अवैध रुपमा जडीबुटी सङ्कलन गरेर निर्यात गर्न लागेको अवस्थामा जडीबुटीसहित उनीहरुलाई पक्राउ गरिएको शे फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालयका सहायक संरक्षण अधिकृत विज्ञान सेनले बताए ।
श्री सङ्ग्राम शार्दूल गुल्मका सेनानी हरिश शाहीका अनुसार, पक्राउ परेकाहरुलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि निकुञ्ज प्रशासन कार्यालयमा बुझाइएको छ।

