
चितवन,९ चैत। जिल्ला प्रहरी कार्यालय चितवनले आन्तरिक पर्यटन प्रवर्द्धन र प्रहरीको मनोबल बढाउने उद्देश्यले ‘घुमौँ चितवन’ कार्यक्रम पुनः सञ्चालनमा ल्याएको छ। जेनजी प्रदर्शन र निर्वाचनका कारण रोकिएको कार्यक्रम अब फेरि सुरु गरिएको हो।
कार्यक्रमअन्तर्गत विभिन्न स्थानमा कार्यरत प्रहरीलाई फरक–फरक भूगोलमा पठाएर त्यहाँका पर्यटकीय गन्तव्यको अवलोकन गराइन्छ। यसले तनाव व्यवस्थापन, मनोरञ्जन, आपसी सम्बन्ध सुदृढीकरण र अनुभव आदान–प्रदानमा सहयोग पुर्याउने विश्वास गरिएको छ।
Advertisement

Advertisement
Advertisement

चितवनका प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार, कार्यक्रममा डुङ्गा सयर, र्याफ्टिङ, हाइकिङजस्ता गतिविधि सञ्चालन गरिनुका साथै चितवन राष्ट्रिय निकुञ्जभित्र पनि सहभागिता गराइन्छ। छिमेकी जिल्लाका पर्यटकीय स्थलमा समेत भ्रमण गराएर ज्ञान र अनुभव बढाउने प्रयास भइरहेको उनले बताए। आलोपालो गरी गरिएको यस कार्यक्रमले प्रहरी कर्मचारी प्रत्यक्ष रुपमा लाभान्वित भएको उनको भनाई छ ।
करिब एक वर्षअघि सुरु गरिएको यो कार्यक्रमबाट प्रहरी कर्मचारीलाई ताजगी मिल्नुका साथै नयाँ ठाउँको भूगोल बुझ्न समेत सहयोग पुगेको छ। हाल चितवनमा जिल्ला ट्राफिकसहित ७३ युनिटमा करिब ९ सय प्रहरी कार्यरत छन्।

