


काठमाडौं,१६ चैत।। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सांसदहरुसँग उनीहरूको निर्वाचन क्षेत्र तथा जिल्लामा देखिएका तत्कालीन समस्या र समाधानका उपायबारे छलफल गरेका छन्।
सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रदेशगत रुपमा सांसदहरुलाई बोलाएर उनले क्षेत्रगत समस्या र समाधानका सम्भावनाबारे जानकारी लिएका हुन्।

छलफलमा सहभागी कोशी प्रदेशका सांसद यज्ञमणि न्यौपानेले प्रदेशस्तरका साझा समस्या तथा आ–आफ्ना क्षेत्रका समस्या जानकारी गराएको बताए।
‘उहाँले हामीले आ–आफ्ना निर्वाचन क्षेत्रमा भएका समस्या र एक जिल्ला वा एक क्षेत्र बढीका समस्या राख्यौँ’, प्रधानमन्त्री शाहको भनाइ उद्धृत गर्दै न्यौपानेले भने, ‘बजेट र प्राथमिकता निर्धारण गरेर समस्या समाधान गर्न सकिने विचार राख्नुभयो।’
उनका अनुसार, प्रधानमन्त्री शाहले समस्या समाधानका उपायबारे पनि चासो देखाउँदै आवश्यक सुझाव मागेका थिए। उनले केही समस्या बजेट अभावका कारण समय लाग्ने भए पनि तत्काल समाधान गर्न सकिने विषयहरूलाई प्राथमिकतामा राखेर सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

